नेपाली कांग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने भएको छ।
विशेष महाधिवेशनबाट आएको र १४औं महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले पार्टीको बृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अपनाइने बताएका हुन्।
केन्द्रीय कार्यसम्पादन समितिको भदौ २८ गतेको निर्णय अनुसार १४औं महाधिवेशनका केन्द्रीय सदस्यको हैसियत विशेष महाधिवेशनबाट आएका केन्द्रीय सदस्य बराबर छ। त्यसै अनुसार उनीहरू बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन्।
विशेष महाधिवेशनमा भाग नलिएका तर १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन दुई दिन मात्रै बाँकी रहेको अवस्थामा सानेपा आइपुगेका नेताहरूलाई सभापति थापाले आफ्नो नेतृत्वमा रहेको महाधिवेशन व्यवस्थापन समितिमा रहेर काम गर्न आग्रह गरेका छन्।
'महाधिवेशनको व्यवस्थापन समिति मेरो संयोजकत्वमा बनाउने निर्णय भएको छ, त्यसैले केन्द्रीय समितिमा आउनुभएका साथीहरूमध्ये केहीलाई म अनुरोध गर्न चाहन्छु – छोटो समय भएकाले व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस्। आवास, भोजन लगायतका विभिन्न समिति बनाएर सम्पूर्ण व्यवस्थापन गर्नुपर्नेछ। त्यसका लागि जिम्मेवारी लिनुपर्ने साथीहरूले यहीँ बसेर काम गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।'
कांग्रेसले महाधिवेशन निष्पक्ष बनाउन आवश्यक पर्ने विभिन्न समितिहरूमा सबै पक्षलाई समावेश गर्ने तयारी पनि गरेको छ।
सभापति थापाले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने पनि बताए।
'आदरणीय नेता शेरबहादुर देउवाजी लगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन। सबैलाई एकैठाउँ जोडेर महाधिवेशन सम्पन्न गरौं,' उनले भने, 'पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु। त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु।'
उनले महाधिवेशनको दिन निवर्तमान सभापति शेरबहादुर देउवा आएर उद्घाटन गरिदिनु ठूलो सम्मानको विषय हुने पनि बताए।
'पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ। त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय यही हो। उहाँको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनुभएका विषय पनि सम्बोधन भइसकेका छन्। ती विषयहरू समाधान भइसकेपछि अब थप अलमल नगरी म सबभन्दा पहिले पूर्वसभापतिज्यूलाई महाधिवेशनमा सहभागी भएर सहयोग गर्न अनुरोध गर्न चाहन्छु,' सभापति थापाले भने।
लामो समय पदाधिकारी भएर योगदान दिएका नेताहरूलाई पनि उनले एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरेका छन्। 'पुरानो र नयाँ पुस्ताका सबै नेता–कार्यकर्ता एकठाउँ उभिएर महाधिवेशनलाई सफल बनाउन सहयोग गरौं भन्ने मेरो आग्रह छ,' उनले भने।
सभापति थापाकै जस्तो अपिल छ, प्रवक्ता देवराज चालिसेको पनि। उनले महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरिएको बताए।
'पुसमा नवीकरण गरेका र त्यसपछि अद्यावधिक गरेका सबैलाई महाधिवेशनमा भाग लिन दिइनेछ, कसैलाई वञ्चित गरिएको छैन,' उनले भने, '१४औं महाधिवेशनका निर्वाचित र केन्द्रीय सदस्यहरू सबै अहिलेको केन्द्रीय सदस्य बराबर हैसियतमा अधिवेशनमा भाग लिन सक्नुहुन्छ।'
केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था यसपालि छैन। त्यसैले असोज ३ र ४ गते हुने वडा अधिवेशनबाट केन्द्रीय नेताहरू पनि प्रतिनिधि बन्नुपर्छ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएर आउनुपर्छ।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म १४औं महाधिवेशनबाट निर्वाचित र मनोनीत गरी उक्त कार्यसमितिमा १६७ जना थिए। तीमध्ये दुईतिहाइ केन्द्रीय सदस्य संस्थापन पक्षमा आइसकेको नेताहरू दाबी गर्छन्।
'धेरै ठूलो संख्यामा साथीहरू आइसक्नुभएको छ, महाधिवेशन प्रक्रियामा होमिइसक्नुभएको छ, मलाई लाग्छ, दुईतिहाइ साथीहरू अधिवेशन प्रक्रियामा सामेल हुनुहुनेछ,' उनले भने।
कांग्रेसमा ८ लाख ७० हजार क्रियाशील सदस्य छन् र यो नामावली वडावडामा पठाइएको छ।
उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन सत्रमा उपस्थित गराउने प्रयास भएको पनि बताए।
'हामी पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्नेछौं। निवर्तमान सभापति शेरबहादुर देउवा लगायत नेताहरूलाई पनि महाधिवेशन उद्घाटन सत्रमा देख्न सक्नुहुन्छ, हाम्रो त्यो प्रयास भइरहेको छ,' उनले भने, 'कुनै पनि अग्रज नेताहरूको सम्मानमा कमी हुन दिने छैनौं। शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइराला लगायत नेताहरूलाई असोज १६ गते खुलामञ्चमा देख्ने अवसर मिलोस्। एकीकृत भएर जाने हो, महाधिवेशनमा कोही पनि छुट्न हुँदैन।'
उनले निवर्तमान सभापति देउवानिकट रहेका ५५ जना नेता पछिल्लो समय केन्द्रीय समितिमा आएको पनि बताए। यसमा संख्या थपिँदो रहेको उनको भनाइ छ। कतिपय नेता वडा अधिवेशनका लागि जिल्ला गइसकेका छन्।
उनले पार्टीभित्र छलफल भए पनि झगडा नरहेको दाबी गरेका छन्।
'हामी बस्छौं, छलफल गर्छौं। लोकतान्त्रिक पार्टीभित्र हुनुपर्ने सबै अभ्यास गर्छौं। कहिलेकाहीँ पत्रकारिताको दृष्टिकोणबाट हाम्रो छलफल झगडा वा विवादजस्तो देखिन सक्छ तर वास्तवमा त्यो हाम्रो लोकतान्त्रिक अभ्यास हो। हामी छलफल गर्छौं, मतभेद राख्छौं र अन्ततः एक भएर अघि बढ्छौं,' उनले भने, 'यही नेपाली कांग्रेसको ऐतिहासिक विशेषता हो। अब हामी १५औं महाधिवेशनको सन्निकटमा छौं। भदौ ३ गतेदेखि वडा अधिवेशन सुरू हुँदैछ।'
उनले अहिले पनि कांग्रेस सिंगो रहेको बताए।
'असन्तुष्ट नेताहरूसँग विभिन्न चरणमा छलफल गर्यौं। हामीले सुरूदेखि नै भन्दै आएका छौं। यो पार्टीभित्र विभाजन होइन, असन्तुष्टि हो। कांग्रेस वैधानिक रूपमा एउटै पार्टी हो र रहिरहनेछ। विभिन्न नेताहरूबाट आएका ५ बुँदे, ८ बुँदे लगायतका प्रस्ताव र सुझावलाई सम्बोधन गर्दै केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले भदौ २८ गते विभिन्न निर्णय गरेको छ। त्यसको मूल उद्देश्य पार्टीभित्रका असमझदारी र असन्तुष्टिहरूलाई सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्नु हो,' उनले भने।
बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी रहेका नेता मीनबहादुर विश्वकर्माले अब शेरबहादुर देउवालाई सर्वोच्च नेता बनाउने प्रतिक्रिया दिए। 'उहाँले सभापति रहेको दाबी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौं,' उनले भने, 'देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ।'
देउवा पक्षले असोज १५ देखि वडा अधिवेशन गरेर विभिन्न तहगत अधिवेशन गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेका छन् तर धेरै नेता यसबाट पछि हट्दै संस्थापन पक्षसँग जोडिइसकेका छन्।
नेता शेखर कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफू कुनै पनि महाधिवेशनमा सहभागी नहुने संकेत गरेका छन्।
'म गाउँ टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु। कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरक रूपमा बुझ्न सक्दिनँ। म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईंहरूसँग भेट्न गाउँघर आइरहने छु,' कोइरालाको भनाइ छ।
उनले कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पर्ने पनि उल्लेख गरेका छन्।
'यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं। मेरो प्रयत्न विगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ। हामी जो आफूलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौं, किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह नहुनुपर्ने हो, जति आज छौं। हामीले विरासतमा पाएको कांग्रेसको क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो। दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौं, न विजय नै छौं। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीझैं भएका छौं,' उनले भनेका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले औपचारिक धारणा दिएका छैनन्। उनीनिकट नेताहरू भने १५औं महाधिवेशन प्रक्रियामा भाग लिन सानेपा आइसकेका छन्। सर्वोच्च अदालतमा मुद्दा दिएकोले आफू नैतिक रूपमा महाधिवेशनमा सरिक हुन नमिल्ने कुरा उनले निकटहरूसँग भन्ने गरेका छन्।