नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाएका छन्।
सरकार गठन भएको नौ महिना बितिसक्दा पनि मुलुकको अवस्था सुधार हुन नसकेको उल्लेख गर्दै उनले न्यायपालिका, व्यवस्थापिका र प्रहरी प्रशासन कमजोर बनाइएको दाबी गरे।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारीमा त्रासको वातावरण रहेको र सयौँ कर्मचारीले राजीनामा दिएको बताए।
कानूनी राज्यको अवधारणा विपरीत व्यक्तिगत शासनको अभ्यास भइरहेको उनको आरोप छ।
खतिवडाले पछिल्लो समय नागरिकले आफ्ना विचार र असहमति खुलेर व्यक्त गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताए। सरकारविरूद्ध नारा लगाउने व्यक्तिलाई समेत दबाबमा पारेर बयान दिन लगाउने अवस्था आएको उनको भनाइ छ।
उनले भने, ‘सरकार निर्माण भएको नौ महिना भयो। वर्तमान अवस्थामा गर्नुपर्ने कुरा के भएको छ? अहिले मुलुकमा संविधानले चिनेका मानिसले शासन गरेका छैनन्। संविधानले नचिनेका मानिसहरुले शासन गर्ने पद्धतिको विकास भएको छ। न्यायपालिकामा हाइजम्प, लङजम्प सुरू भयो। व्यवस्थापिकाप्रति बेवास्ता भएको छ। निजामती कर्मचारीमा सयौँ कर्मचारीले राजीनामा दिएका छन्, त्रासको वातावरण छ। न्यायपालिका र व्यवस्थापिका मात्रै होइन, प्रहरी प्रशासन ध्वस्त भएको छ। कानूनी राज्यका ठाउँमा व्यक्तिगत राज्य र संविधानले नचिनेका मान्छेले राज्य गर्ने क्रम विकास भएको छ। हामी बोल्न डराएका छौँ। गुरु लुइँटेल भइन्छ कि भनेर डराएका छौँ। अहिले कुनै व्यक्तिले मुर्दावाद र जिन्दावाद भन्यो भने कालोपट्टि लगाएर यसका विरूद्धमा बयान दे भन्ने अवस्था आएको छ।’
सहमहामन्त्री खतिवडाले संविधान निर्माण गर्दा शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए। –न्युज एजेन्सी नेपाल