नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा भएका कतिपय सहमतिको स्वागत गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा विवादले उच्चस्तरीय कूटनीतिक संवादमा अपेक्षित प्राथमिकता नपाएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
प्रधानमन्त्री बन्नुअघि र प्रधानमन्त्री भइसकेपछि पनि सीमा विवादका विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका शाहले भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद गर्ने अवसर पाउँदा उक्त विषयलाई प्राथमिकता नदिएको कांग्रेसको टिप्पणी छ।
यसबाट प्रधानमन्त्री शाहको दोहोरो चरित्र उदांगो भएको कांग्रेसले जनाएको छ।
सभापति गगन थापाको अध्यक्षतामा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत समीक्षा गर्दै भएका सहमतिको कार्यान्वयन र राष्ट्रिय हितका संवेदनशील विषयमा सरकारलाई निरन्तर खबरदारी गर्ने निर्णय गरेको छ।
बैठकले भैरहवा हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमति र भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब रूपैयाँ बराबरको विकास सहयोग प्याकेजको स्वागत गरेको छ। सँगसँगै, हवाई मार्ग सञ्चालनको समयसीमा र भारतबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणका सर्त सार्वजनिक गर्न माग गरेको छ।
महामन्त्री प्रदीप पौडेलले शनिबार सार्वजनिक गरेको बैठकको निर्णयमा प्रधानमन्त्रीको भारत भ्रमण क्रममा उच्चस्तरीय संवादका लागि बनेको वातावरण, केही महत्त्वपूर्ण विषयमा भएका सहमति र विगतका सहकार्यले पाएको निरन्तरतालाई कांग्रेसले सकारात्मक रूपमा लिएको उल्लेख छ।
सीमा विवादमा प्रधानमन्त्रीको बोली र व्यवहारबीच विरोधाभास
कांग्रेसले नेपाल र भारतबीच वर्षौंदेखि समाधान हुन बाँकी सीमा लगायत संवेदनशील विषयले प्रधानमन्त्री शाहको भ्रमणमा अपेक्षित स्थान र प्राथमिकता नपाउनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ।
यस्ता संवेदनशील विषयको समाधान कुनै एउटा भ्रमण वा बैठकबाट मात्र सम्भव हुँदैन भन्ने यथार्थप्रति आफू स्पष्ट रहेको भन्दै कांग्रेसले त्यसका लागि निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ।
प्रधानमन्त्री शाहले विगतमा सीमा विवादका सम्बन्धमा देखाएको व्यवहार र भारत भ्रमण क्रममा लिएको अडानबीच विरोधाभास रहेको कांग्रेसको टिप्पणी छ।
'प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध, विशेष गरी सीमाका विषयमा जसरी उहाँले अपरिपक्व तथा उत्तेजक कार्य र अभिव्यक्ति दिँदै लोकप्रियता प्रदर्शन गर्नुभएको थियो, पछि जब कूटनीतिक संवादमार्फत त्यो विषयलाई निर्णायक रूपमा उठाउने अवसर आयो, तब उक्त विषयलाई प्रवेश नै नगराई फर्किनुले उहाँको दोहोरो चरित्र उदांगो भएको छ,' कांग्रेसको निर्णयमा भनिएको छ।
बोली र व्यवहारबीचको यो विरोधाभास आफैमा विडम्बनापूर्ण हुनुका साथै यसले प्रधानमन्त्रीको कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वतालाई पनि उजागर गरेको कांग्रेसले जनाएको छ।
कांग्रेसले आफूले यही भ्रमणबाट सीमा विवादको समाधान खोजेको नभई समाधानका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक संवादको आधार निर्माण होस् भन्ने अपेक्षा गरेको स्पष्ट पारेको छ।
'नेपाली कांग्रेसको प्रश्न यो भ्रमणबाटै सीमासँग सम्बन्धित विषय किन समाधान भएन भन्ने होइन। सीमाको विषयलाई समाधानका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक संवादलाई किन अपेक्षित प्राथमिकता दिइएन र त्यसलाई अगाडि बढाउने स्पष्ट आधार किन निर्माण गरिएन भन्ने हो,' निर्णयमा भनिएको छ।
कांग्रेसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएका सीमासम्बन्धी विषयलाई द्विपक्षीय संवादको मूल एजेन्डामा कायम राख्न र विद्यमान द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउन सरकारलाई निरन्तर दबाब दिने जनाएको छ।
सीमा विवादका विषयमा भ्रमण क्रममा के-कस्तो छलफल भयो र आगामी दिनमा सरकारले कुन संयन्त्रमार्फत कस्तो कार्ययोजनासहित कूटनीतिक पहल अगाडि बढाउँछ भन्ने विषयमा संसद र आमनागरिकलाई स्पष्ट पार्न पनि कांग्रेसले माग गरेको छ।
संयुक्त वक्तव्य जारी हुनु मात्र उपलब्धि होइन
कांग्रेसले परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा संयुक्त वक्तव्य जारी हुनुलाई नै ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरेकोमा पनि प्रश्न उठाएको छ।
विगतका सरकारहरूले जारी गर्न नसकेको संयुक्त वक्तव्य यसपालि जारी भएको भन्दै परराष्ट्रमन्त्रीले त्यसलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको कांग्रेसले उल्लेख गरेको छ।
यसपालि जारी गरिएको संयुक्त वक्तव्य र संयुक्त 'दूरदृष्टि' पत्र मार्फत दुई देशबीच सहकार्यका महत्त्वपूर्ण आयाम खुला हुनु स्वागतयोग्य भएको कांग्रेसले जनाएको छ। तर संयुक्त वक्तव्य वा दूरदृष्टि पत्र जारी हुनु आफैमा उपलब्धिको पर्याप्त आधार नभएको कांग्रेसको भनाइ छ।
त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र त्यसबाट प्राप्त हुने परिणामका आधारमा भ्रमणको उपलब्धि मूल्यांकन गर्नुपर्ने कांग्रेसले जनाएको छ।
'संयुक्त वक्तव्य तथा संयुक्त दूरदृष्टि पत्रको अध्ययन गर्दा नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग प्रत्यक्ष जोडिएको सीमाजस्तो संवेदनशील विषयलाई अन्य नियमित द्विपक्षीय विषयहरूसँगै सामान्य रूपमा प्रस्तुत गर्दा यसको ऐतिहासिक, भौगोलिक र राजनीतिक गम्भीरतालाई अपेक्षित महत्त्व नदिइएको देखिन्छ,' कांग्रेसको निर्णयमा भनिएको छ।
भैरहवा हवाई मार्गको स्वागत, कार्यान्वयनको समयसीमा माग
प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग (बी–३४५) दुईतर्फी सञ्चालन गर्ने सहमतिको कांग्रेसले स्वागत गरेको छ।
नेपालको पर्यटन तथा समग्र आर्थिक विकाससँग जोडिएका विराटनगर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै थप हवाई प्रवेश मार्ग प्राप्त गर्ने विषय आफूले सन् २०१४ देखि नै निरन्तर उठाउँदै आएको कांग्रेसले उल्लेख गरेको छ।
भैरहवा हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने नीतिगत सहमति जुटे पनि त्यसको वास्तविक सञ्चालनका लागि आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी विषय टुंगिन बाँकी रहेको कांग्रेसले जनाएको छ।
यस सम्बन्धमा कांग्रेसले सरकारसँग तीन प्रश्न गरेको छ— आवश्यक प्राविधिक प्रक्रिया कहिलेसम्म पूरा हुन्छ? भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने आधार कसरी सुनिश्चित गरिन्छ? बाँकी हवाई प्रवेश मार्ग प्राप्त गर्न सरकारले कस्तो पहल गर्नेछ?
यी विषयमा सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ।
कूटनीतिमा सहमति र घोषणा हुनु जति महत्त्वपूर्ण हुन्छ, त्यसको प्रभावकारी कार्यान्वयन गरी नागरिकले अनुभूति गर्ने ठोस उपलब्धिमा रूपान्तरण गर्नु अझ महत्त्वपूर्ण हुने कांग्रेसले जनाएको छ।
विगतमा भएका कतिपय सहमति सफलतापूर्वक कार्यान्वयन भए पनि कतिपय घोषणा कागजमै सीमित भएको अनुभव स्मरण गराउँदै कांग्रेसले यसपालि भएका सहमतिको कार्यान्वयनमाथि सूक्ष्म निगरानी राख्ने जनाएको छ।
भारतबाट लिइने १ खर्ब ८४ अर्ब रूपैयाँ ऋणका सर्त सार्वजनिक गर्न माग
कांग्रेसले प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा भारत सरकारले घोषणा गरेको २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरको विकास सहयोग प्याकेजको स्वागत गरेको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछिको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्स्थापना, ऊर्जा तथा नयाँ पूर्वाधार विकासका लागि भारतले घोषणा गरेको उक्त सहयोग नेपालको वर्तमान आवश्यकताका दृष्टिले महत्त्वपूर्ण रहेको कांग्रेसले जनाएको छ।
उक्त विकास सहयोग प्याकेजमा ५६ अर्ब रूपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) छ।
कांग्रेसले यो सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिँदै अनुदान र ऋणको परिचालन नेपालको राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी तथा परिणाममुखी ढंगले हुनुपर्ने जनाएको छ।
अनुदान रकम कुन प्राथमिकताका आधारमा कुन-कुन क्षेत्रमा खर्च गरिने हो भन्ने सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेसको माग छ।
त्यस्तै, भारतबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणका सर्त के-कस्ता छन् र उक्त ऋण कुन-कुन परियोजनामा परिचालन गरिने हो भन्ने पनि सरकारले सार्वजनिक गर्नुपर्ने कांग्रेसले जनाएको छ।
ऋण लिएर गरिने लगानीको उचित प्रतिफल कसरी सुनिश्चित गरिन्छ र सार्वजनिक ऋणको दिगोपना कायम राख्न सरकारले कस्तो रणनीति अपनाउँछ भनेर पनि कांग्रेसले प्रश्न गरेको छ।
यी सबै विषयमा सरकारले संसद र आमनागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने कांग्रेसको माग छ।
'मित्रराष्ट्रबाट प्राप्त सहयोगको सदुपयोग, पारदर्शिता र परिणाममुखी कार्यान्वयनले नेपालको विकासमा योगदान पुर्याउनुका साथै दुई देशबीचको आपसी विश्वास र सम्बन्धलाई समेत थप सुदृढ बनाउनेछ,' कांग्रेसले भनेको छ।
आइआइटी क्याम्पस स्थापनादेखि जलवायु सहकार्यसम्मको स्वागत
कांग्रेसले ऊर्जा तथा सम्पर्क सञ्जालका क्षेत्रमा हुँदै आएको नेपाल–भारत सहकार्यलाई नयाँ क्षेत्रमा विस्तार गर्ने पहलको पनि स्वागत गरेको छ।
सन् २०२५ मा प्रारम्भ भएको आइआइटी मद्राससँगको स्टार्टअप सहकार्यलाई निरन्तरता दिँदै नेपालमा आइआइटी क्याम्पस स्थापना गर्ने पहललाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।
त्यस्तै, स्टार्टअप, नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलताजस्ता आधुनिक एवं युवापुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई पनि कांग्रेसले स्वागत गरेको छ।
यी समझदारीलाई घोषणामा मात्र सीमित नराखी निश्चित कार्ययोजना, समयसीमा र संस्थागत जिम्मेवारीसहित कार्यान्वयनमा लैजानुपर्ने कांग्रेसको भनाइ छ।
राम्रा काममा सहयोग, राष्ट्रिय हितमा सरकार चुके खबरदारी
कांग्रेसले प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा भारत सरकार र भारतीय जनताबाट प्राप्त आत्मीय स्वागत र उच्च राजकीय सम्मानलाई दुई देशबीचको प्रगाढ ऐतिहासिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भ्रमणको पूर्ण सफलताको कामना गर्दै शुभकामना दिएको पनि कांग्रेसले स्मरण गराएको छ।
नेपाल र भारतबीच सहकार्यका अनेकौं सम्भावना रहेको भन्दै कांग्रेसले ती सम्भावनालाई अगाडि बढाउँदै आपसी विश्वास, सम्मान र समझदारीका आधारमा थाती रहेका संवेदनशील विषयको कूटनीतिक समाधान खोज्नुपर्ने जनाएको छ।
राष्ट्रिय हित र नेपालको समुन्नतिका पक्षमा सरकारले गर्ने सकारात्मक प्रयासमा आफ्नो साथ र सहयोग रहने कांग्रेसको प्रतिबद्धता छ।
भएका सहमतिलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने, घचघच्याउने, आवश्यक रचनात्मक सुझाव दिने र कार्यान्वयनको प्रगतिमाथि निगरानी राख्ने कांग्रेसले जनाएको छ।
राष्ट्रिय हितका संवेदनशील विषयमा सरकार चुकेको, आवश्यक कूटनीतिक पहल गर्न नसकेको वा आफ्नो जिम्मेवारीबाट विमुख भएको अवस्थामा भने संसद र सार्वजनिक मञ्चबाट निरन्तर प्रश्न उठाउने र सशक्त खबरदारी गर्ने कांग्रेसले निर्णय गरेको छ।
***