विदेशका संग्रहालयको सिसाभित्र थुनिएका भगवानहरूले 'मलाई घर फर्काऊ' भन्दै गरेको चित्कार हामीले सुन्न सकिरहेका छैनौं।
यो यथार्थ विदेशका संग्रहालयको मात्र होइन। नेपालकै संग्रहालयदेखि प्रहरी चौकी, नगरपालिका भवन, अदालत र सरकारी कार्यालयहरूमा समेत विभिन्न ठाउँबाट भेटिएका सम्पदाहरू थलिएको अवस्थामा भेटिन्छन्।
भक्तपुरमा यतिबेला 'मलाई घर फर्काऊ' प्रदर्शनी सञ्चालन भइरहेको छ। प्रदर्शनीमा राखिएका सामग्रीमार्फत देवताहरू मन्दिरमै पुजिन्छन्, अन्यत्र होइन भन्ने सन्देश दिन खोजिएको छ।
प्रदर्शनीमा दुईवटा बुद्धका प्रतिमूर्ति राखिएका छन्। एउटा नियमित पूजा गरिएको जीवन्त मूर्ति हो भने अर्को सिसाभित्र थुनिएको। यसले नेपाली समाजले भगवानलाई कसरी हेर्छ भन्ने यथार्थ देखाउन खोजेको छ। सिसाभित्र राखिएको बुद्धमूर्तिबारे लैनसिंह बाङ्देलले आफ्नो पुस्तक 'स्टोलेन इमेजेज अफ नेपाल' मा उल्लेख गरेका थिए। उनका अनुसार पाँचौं शताब्दीमा बनेको यो मूर्ति चाबहिलको चारूमति विहारबाट सन् १९८५ को जुलाईमा हराएको थियो।
सिसामा राखिएको मूर्तिको शीर्षक 'द रेस्क्युड बुद्ध' (उद्धार गरिएको बुद्ध) लेखिएको छ। त्यसमा संकलनको टिपोट यस्तो छ:
'सिन्दूर, धार्मिक अनुष्ठानका अर्पण, पानी, खानेकुरा र निरन्तर पूजाआराधनाको शताब्दियौं लामो सम्पर्क यस उल्लेखनीय मूर्तिका लागि गम्भीर जोखिम थियो। यसको विश्वव्यापी महत्त्वलाई मनन गर्दै हामीले भावी पुस्ताका लागि संरक्षण सुनिश्चित गर्न सन् १९८५ मा यसलाई अधिकरण गरेका थियौं। स्थानीय समुदायसँग परामर्श गरिएको थिएन, तर मानवताको ठूलो हितमा यो हस्तक्षेप आवश्यक ठानिएको थियो।'
प्रदर्शनी स्थलमा राखिएको पूजा गरिने बुद्धको मूर्ति।
यो संग्रहालयप्रति गरिएको उपहास हो। किनकि धेरै संग्रहालयले समुदायको दैनिकीबाट खोसिएका सम्पदालाई अवैध वा अनैतिक तरिकाले प्राप्त गरेर राखेका छन्। 'नेपालमा बिग्रन लागेकाले हामीले जोगायौं' भन्दै 'पश्चिमी दृष्टिकोण' को 'संरक्षण' को तर्क गर्ने गरिएको पाइन्छ।
अर्कातिर, पुजिएर र जीवन्यास गरेर जीवन्त बनाइएको भगवानको स्वरूपमा रहेको बुद्धमूर्ति छ। फूलमाला र टीकाले सजिएको भगवान बुद्ध र सिसाभित्र राखिएको सम्पदाबीचको फरक देखाउन प्रदर्शनीमा दुवै मूर्ति सँगै राखिएको हो।
व्यक्ति, समाज र समयले निरन्तर छोएर, पूजा गरेर, जन्मदिन मनाएर अपनत्व लिँदै आएको भगवानको स्वरूप दर्शकसमक्ष ल्याउन खोजिएको आभास हुन्छ।
प्रदर्शनीमा रवीन्द्र पुरीले सन् २०२७ मा सुरू गर्ने भनेको 'म्युजियम अफ स्टोलेन आर्ट' का लागि बनाइएका केही प्रतिमूर्ति पनि राखिएका छन्। बाङ्देलको 'स्टोलेन इमेजेज अफ नेपाल' बाट प्रतिलिपि उतारेर ढुंगामा आकार दिई बनाउन थालिएका यस्ता ५० वटा प्रतिमूर्ति तयार पारेर संग्रहालय खोल्ने पुरीको ध्येय छ।
प्रदर्शनीकै क्रममा मूर्तिकार शिव थापासँग कुराकानी गर्ने मौका पायौं। उनकै नेतृत्वमा सन् २०१० देखि मूर्तिहरूको प्रतिमूर्ति बनाउने काम सुरू भएको हो।
'हामीलाई गर्व लाग्छ, चोरिएका विभिन्न देवीदेवताका प्रतिकृति बनाउने काम गर्न पायौं,' थापाले भने, 'लगभग ५० वटा पूरा गरिसकेका छौं, बाँकी केही अहिले बनाउँदै छौं।'
उनले थपे, 'देशबाट कुनै पनि भगवानको मूर्ति चोरी हुनु हुँदैन। सुरक्षा सशक्त बनाएर हामीले आफ्नो सम्पदा संरक्षण गर्न सक्नुपर्छ।'
उहाँसँगै भारतीय मूर्तिकार तिमिर नासन ओझाको नेतृत्वमा यो कार्य पूर्णता पाउँदै छ।
प्रदर्शनीमा आगन्तुकबीच नेपालमा भइरहेको चोरीनिकासीमार्फत गैरकानुनी ढंगले हराएका मूर्ति देश–विदेशमा कसरी पुग्छन्, तिनलाई फर्काउन कसरी पहल गर्न सकिन्छ र हामीले आफ्नो सम्पदा संरक्षण कसरी गर्नुपर्छ भन्ने विषयमा छलफल गरेर चेतना जगाउने उद्देश्य राखिएको छ।
चोरले सिँगो ढुंगाको मूर्ति नै लैजानुपर्छ भन्ने सोच्दैनन्, खण्डित गरेर पनि लैजान्छन् भन्ने कुरा प्रदर्शनीले देखाउन खोजेको छ। शरीर र शिर छुट्याएर विश्व बजारमा बेच्न लैजाने गरिएको अवस्था पनि यहाँ देख्न सकिन्छ।
फर्पिङमा रहेको सोह्रौं शताब्दीको सरस्वतीको मूर्तिको शिर चोरेर शरीर यथावत छोडिएको थियो। सन् १९८४ को नोभेम्बरमा चोरी गरिएको त्यो मूर्ति सन् १९९९ मा फर्काइएको हो। तर शिर हाल छाउनी संग्रहालयमै छ।
प्रदर्शनीमा दैनिक पूजा गर्ने एक स्थानीय आमाको भनाइ साभार गरिएको छ।
'म त्यो चिसो ढुंगामा बसेर दुई घन्टासम्म रोएँ, आँसु रोक्नै सकिनँ,' उनले भनेकी छन्, 'दैनिक दर्शन गर्ने देवी सरस्वतीलाई गुमाउनुको पीडा यति असह्य थियो, आफ्नै श्रीमानको निधन हुँदाको भन्दा पनि गहिरो शोक महसुस भयो।'
उनको भिडिओ अन्तर्वार्ता पनि प्रदर्शनीमा राखिएको छ।
अनुहार छोपिएको सरस्वतीको पूर्ण शरीरको मूर्ति। शिर काटिएपछि गुमेको पहिचान दर्शाउन यसरी बनाइएको हो।
संग्रहालयकै लागि बनाइएको सरस्वतीको मूर्तिको शिरलाई कालो कपडाले छोपेर अलग्गै राखिएको छ। यसले शिर काटिएपछि मूर्तिले भोग्नुपरेको दर्दनाक पीडा र शिर छुट्टै राखिएको कलाकृतिजस्तो देखाउने तरिका अपनाएको छ।
प्रदर्शनीको एउटा कोठामा नेपाल फर्किएर समुदायलाई हस्तान्तरण गरिएका केही उदाहरणीय पुनर्स्थापनाका फोटो प्रदर्शित छन्। एउटा भित्तामा विश्वको नक्सा राखेर नेपालका सम्पदा हालसम्म कुन–कुन देशमा पुगेका छन् भन्ने देखाइएको छ।
सम्पदाको उत्पत्ति–स्रोत कसरी खोज्ने, कतै हाम्रो सम्पदा देखिए खोजीनीति कसरी गर्नेजस्ता कुरा सिकाउन त्यहीँ अन्तरक्रियात्मक गतिविधि पनि राखिएको छ।
आयोजकका अनुसार, 'मलाई घर फर्काऊ' मा एउटा भगवानको चित्कार जसरी अभिव्यक्त गर्न खोजिएको छ। यसले विश्वभरका संग्रहालय र निजी संग्रहमा रहेका देवीदेवताले आफ्नो पवित्र थलोमा फर्कन चाहेको इच्छा जनाउँछ, जहाँ उनीहरूको पहिचान अझै जीवित छ।
प्रदर्शनीकी संयोजक श्रीना नेपालका अनुसार यसले सांस्कृतिक सम्पदाको फिर्ती बुझ्नुको महत्त्व उजागर गर्छ।
'ग्यालरी अवलोकन र अन्तरक्रियात्मक गतिविधिमार्फत हामी युवालाई नेपालले के गुमाएको छ र त्यो किन महत्त्वपूर्ण छ भन्ने कुरासँग जोड्न चाहन्छौं,' उनले भनिन्।
नमूना फाउन्डेसनले आयोजना गरेको प्रदर्शनी नोभेम्बर ३० सम्म लम्ब्याइएको छ। प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिन्छ। प्रदर्शनी भक्तपुरको कमलविनायकस्थित नमूना फाउन्डेसनमा सञ्चालन भइरहेको छ।
(सौरभ थापा श्रेष्ठ हाल नमूना फाउन्डेसनमा डाटा म्यानेजरका रूपमा कार्यरत छन्।)
ढुंगा कुँद्ने कलाकार शिव थापा बाँकी तीनवटा प्रतिरूप तयार पार्दै।
चोरी भएका कलाकृतिहरूको संग्रहालयका लागि तयार पारिएको सरस्वतीको शिरको प्रतिरूप।
नेपाल फिर्ता ल्याइएका सांस्कृतिक सम्पदाका तस्बिरको प्रदर्शनी।
संग्रहालयमा राखिने वस्तुमाथि व्यंग्य गर्दै सिसाभित्र राखिएको बुद्धको प्रतिरूप। यसमा संकलकको टिपोट पनि समावेश छ।
माटोबाट मूर्ति बनाउँदै गरेका एक युवा कलाकार।
समुदायबाट संकलित 'गुमेका कुरा' सँग जोडिएका कथाका झलक।