कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ८ प्रहरीविरूद्ध मुद्दा दायर भएको छ।
बर्खास्तमा परेका एसपी दिल्लीराज बिष्ट, निलम्बनमा परेका डिएसपी अंगुर जिसीसहित आठ प्रहरीविरूद्ध बुधबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको हो।
जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अनुसन्धानमा लापरबाही गरेको भन्दै उनीहरूविरूद्ध मुद्दा परेको हो।
अदालतले आठ जना प्रतिवादीसँग आजैदेखि बयान सुरू गर्ने बताएको छ।
‘उहाँहरूका वकिलले पहिला प्रारम्भिक सुनुवाइ गर्नु पर्ने माग गर्नुभएको छ,’ अवस्थीले भने।
उनका अनुसार प्रतिवादीमध्ये मुद्दा लागेका डिएसपी ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, सब इन्सपेक्टर हरसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउँद जिल्ला अदालतमा उपस्थित भएका छन्। तत्कालीन प्रहरी प्रमुख दिल्लीराज बिष्ट र घटनाको अध्ययन गर्न काठमाडौंबाट गएका डिएसपी (अहिले निलम्बित) अंगुर जिसी अदालतमा आएका छैनन्।
प्रहरीले उनीहरूलाई फरार भनेको छ।
यी दुबै जनाविरूद्ध अदालतले उपस्थित हुन म्याद सूचना जारी गर्ने स्रेस्तेदार अवस्थीले जानकारी दिए।
गत साउन ११ गते महेन्द्रनगरकी पन्तको शव उखुबारीमा भेटिएको थियो। घटनामा प्रहरीले प्रमाण नष्ट गरेको र नक्कली अभियुक्त खडा गरेको पुष्टी भएपछि अनुसन्धानमा संलग्न प्रहरीमध्ये केहीलाई बर्खास्त र केहीलाई निलम्बन गरिएको थियो।