म युएईको दुबईमा काम गर्थें, पानीजहाजमा खोलिएको पाँचतारे होटलमा।
त्यो पानीजहाज बेलायतकी महारानी एलिजाबेथ द्वितीयको व्यक्तिगत प्रयोजनका लागि सन् १९६७ मा बनेको थियो। सन् २००८ सम्म चलेको जहाजले २५ पटक संसार परिक्रमा गरिसकेको छ। दोस्रो विश्वयुद्धमा फोकल्यान्ड टापुबाट नेपाली गोर्खाली जवान उद्धार गरेको जहाज पनि यही हो।
सन् २००८ मा दुबईका शेख मोहम्मदले उक्त जहाज खरिद गरे र २०१८ देखि त्यसैमा पाँचतारे होटल सुरू गरे।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यवस्थापनमा स्नातक गरेपछि मलाई उक्त पानीजहाज होटलको फाइनान्स विभागमा काम गर्ने अवसर प्राप्त भयो। त्यसयता मेरो दिनचर्या लाखौं प्रवासी नेपालीजस्तै चलिरहेको थियो।
यस्तैमा कोरोना भाइरसको महामारी सुरू भयो। कम्पनीहरू धमाधम बन्द हुन थाले। मेरो कम्पनीले पनि अप्रिल १ बाट बन्द गर्ने निर्णय गर्यो। सबै कार्यरत स्टाफलाई खानेबस्ने सुविधा र स्वदेश फर्कन चाहनेलाई टिकटसहित विदा दिने भयो।
मैले नेपाल फर्कने निधो गरेँ। अप्रिलको टिकट लिएको थिएँ। त्यसैबीच मार्च २० बाट नेपाल जाने सबै उडान बन्द भएको खबर आयो। मैले अर्को ट्राभल एजेन्सीमा सम्पर्क गरेँ। धन्न मार्च २० अगाडिकै टिकट पाइयो। अन्तिम समयमा भए पनि टिकट पाएकोमा आफैंलाई भाग्यमानी ठानेँ।
एकातिर देश फर्किने खुसी थियो, अर्कातिर मन डराइरहेको थियो। संसारका धेरै मुलुकले कोरोनाबाट बच्न 'जो जहाँ छ त्यहीँ बस्नू' भन्ने सन्देश प्रवाह गर्दै थियो। यति हुँदाहुँदै अहिले नै नेपाल गइनँ भने भोलि फेरि के आदेश हुने हो ठेगान थिएन।
मैले परिवारका सदस्यसँग छलफल गरेँ। उनीहरूले राम्ररी आउनू र आएपछि १४ दिन क्वारेन्टाइनमा बस्नू भन्ने सुझाव दिए।
म शारजहाँ विमानस्थल पुगेँ। त्यहाँको व्यवस्थापन राम्रो थियो। जहाज चढ्दा मेरो मनमा कतै म आफू भाइरस बोकेर त जाँदै छैन भन्ने डर खेल्दै थियो। मैले गलत निर्णय त गरिनँ भनेर मन तुलबुल हुँदै थियो।
यस्ता अनेक तर्कना मनमा खेलाउँदै मेरो नेपाल यात्रा सुरू भयो।
मैले यात्राभरि आफ्नो सिटबाट हलचल गरिनँ। जहाजको कुर्सीमा बसेको बस्यै नेपाल आइपुगेको यो मेरो पहिलो अनुभव हो।
बेलुकी १०:३५ बजे हामी काठमाडौं अवतरण गर्यौं। अध्यागमनतिर बढ्दा मैले साथीभाइलाई दुरी कायम राख्न अनुरोध गरेँ। घरमा पनि १४ दिन कसैसँग सम्पर्क नगर्नू भनेँ। कतिपय साथीहरू 'नेपालीलाई केही हुँदैन' भनेर हल्का रूपमा लिँदै थिए। मैले भनेँ, 'हाम्रो कारणले परिवार र देशले दुःख पाउनुहुन्न। १४ दिन धैर्य गरे केही बिग्रँदैन।'
त्रिभुवन विमानस्थलको लापरबाहीले मलाई अलिकति डर लाग्यो। इटाली र इरानको समाचार पढेर हिँडेको म यहाँको फितलो तयारी देखेर झस्केँ। विमानस्थलका प्रहरी र कर्मचारी मास्क र पञ्जा नलगाई काम गरिरहेका थिए।
मैले आफ्नो तर्फबाट सकभर जोगिने प्रयास गरेँ। घरमा फोन गरेर १४ दिन अलग्गै खानेबस्ने व्यवस्था गर्न लगाएको थिएँ।
त्यो मेरो जिन्दगीकै दुःखद क्षण थियो। म नेपालमै थिएँ, तर एक्लो थिएँ। आफ्नो परिवारलाई भेट्न आएको थिएँ, तर उनीहरूबाट टाढा थिएँ।
मेरी आमा ७० वर्षको हुनुभयो। म उहाँलाई भेटेर ढोग गर्न चाहन्थेँ। धित मर्ने गरी अंगालोमा बेर्न चाहन्थेँ। श्रीमतीसँग माया साट्न चाहन्थेँ। आठ महिनाको छोरालाई काखमा लिन चाहन्थेँ। तर, उनीहरूसँग माया साट्दा भाइरस पनि साटिएला भन्ने डर थियो।
म परिवारको मायाले नेपाल फर्केको थिएँ, त्यही मायाले मलाई परिवारबाट टाढा राख्यो।
मेरो १४ दिने क्वारेन्टाइन चैत ७ गतेबाट सुरू भएको छ। परिवारलाई यसबारे सबै थाहा भएकाले सोचेभन्दा सजिलो भएको छ। राम्ररी निद्रा भने परेको छैन। मनमा कुरा खेलेको खेल्यै गर्छ।
आमा बेलाबेला सानो छोरा लिएर कोठानजिक आउनुहुन्छ। छोरा ढोकाबाटै मलाई टुलुटुलु हेर्छ। म पनि उसलाई हेरेको हेर्यै हुन्छु। सबभन्दा पीडा चाहिँ खाना खाने बेला हुन्छ। परिवारका सदस्यसँगै बसेर खान नपाएको पीडाले मलाई नै खान्छ।
यो १४ दिनको बसाइ खेर नफालौं भनेर मैले किताबहरू पढ्ने योजना बनाएको छु। भुगोलविद् डा. हर्क गुरुङको 'मैले देखेको नेपाल' अध्ययन गर्दैछु। मलाई कोठामै बसेर नेपाल बुझ्ने अवसर पाएझैं लागेको छ।
चैत ११ गतेबाट नेपालमा पनि लक-डाउन गरिएको खबरले खुसी लाग्यो। यो सही निर्णय हो। जनताले यसमा सरकारलाई साथ दिनुपर्छ। सरकारले पनि लक-डाउन पालना गराउन कुनै कसर छाड्नु हुन्न। संसारका धनी मुलुकहरूमा समेत हजारौंको मृत्यु भइरहेका बेला हामीलाई कुनै किसिमको लापरबाही गर्ने गुञ्जायस छैन।
तेस्रो दिन बिहान उठ्दा हल्का टाउको दुखेझैं भयो। छिसिक्क केही भयो कि अचेल मनमा शंकाको लहर दौडिन थालिहाल्छ। कोरोना भयो कि भन्ने डर लाग्छ। मौसम परिवर्तन वा तनावले होला भनेर आफैंलाई बुझाउनुको विकल्प छैन। नुहाइधुहाइ गरेर तातो पानी र चिया पिएपछि टाउको दुखाइ कम हुन्छ। मन पनि अलि ढुक्क हुन्छ।
फ्रान्सबाट आएकी युवतीमा संक्रमण भेटिएको खबरले झनै चिन्तित भएँ। विमानस्थलको बेथिति सम्झनामा आयो। आफू सजग भएर घरका सबैलाई सजग बस्नू भनेँ।
चौथो दिन चैत १० गते बिहान ब्युँझदा अलि अलि रूघा लागेजस्तो भयो। डर र शंका बढ्यो। विमानस्थलमा हामीलाई एउटा फारम दिइएको थियो।त्यो फारम तल केही सम्पर्क नम्बर पनि थियो। मैले त्यसमा फोन गरेर आफ्नो समस्या राखेँ। उहाँहरूले 'नआत्तिनू' र 'केही परिहाले सम्पर्कमा बस्नू' भनेर मनोबल बढाइदिनुभयो।
म घरमा परिवारकै वरिपरि हुँदा त यस्तो छ, प्रवासमा रहेका लाखौं नेपालीको हालत के होला!
छैठौं दिन चैत १२ गते दोस्रो कोरोना संक्रमित व्यक्ति भेटिएको खबर आयो। समाचार हेर्दा, ती व्यक्ति म आएकै जहाजका यात्रु रहेछन्। मेरो सातो गयो। के गर्ने, कसो गर्ने अन्योलमा परेँ। व्यर्थै आएजस्तो भयो।
मैले फेरि उही नम्बरमा सम्पर्क गरेँ। आफू पनि त्यही जहाजमा आएको जानकारी दिएँ। त्यसयता म अझै सतर्क भएर बसेको छु। परिवारसँग दुरी कायम राखेको छु। सम्बन्धित निकायको पनि सम्पर्कमा छु।
मेरो १४ दिने सेल्फ-क्वारेन्टाइन सकिन छ दिन बाँकी छ। यी दिनमा डा. हर्क गुरुङको किताब पढिसक्नेछु। त्यसपछि बल्ल परिवारको नजिक हुन पाउनेछु। छोरालाई अंगाल्न पाउनेछु।
सन् २०१५ देखि युएई बस्न थालेको मलाई यतिका वर्ष बितेको पत्तै भएन। पछिल्लोचोटि आठ महिनाअघि नेपाल आएको थिएँ। परदेशमा यी आठ महिना छिट्टै बिते, यहाँ आफ्नै घरमा १४ दिन बिताउन गाह्रो भइरहेको छ।
हामी सबै स्वास्थ्यकर्मी र सरकारले भनेको मानौं। छिट्टै कोरोना नियन्त्रण होस्।