प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरूलाई १ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
आफ्नो कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै १ का मुख्यमन्त्री शेरधन राईले संक्रमण बढ्दै गएकाले आइसोलेशन अभाव भएको र अन्य सेवा पनि स्तरीय नभएको गुनासो आएपछि बजेट विनियोजन गरिएको बताए।
‘धेरैजसो स्थानमा कोरोना संक्रमण बढेकाले यसको नियन्त्रणका लागि स्थानीय तहलाई बजेट अभाव नहोस् भनेर थप रकम उपलब्ध गराएका छौं’ उनले भने। केही दिनअघि आइसोलेशन बेडहरूको व्यवस्था गर्न प्रदेशस्तरीय सिसिएमसी बैठकले निर्णय गरेको थियो।
प्रदेश सरकारले विराटनगर महानगरपालिकामा रहेको मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ।
यस्तै रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन १५ लाख, सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित वि जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन १० लाख, बराहक्षेत्र नगरपालिकामा रहेको रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशन बनाउन १५ लाख दिएको प्रदेश सरकारले जनाएको छ।
त्यस्तै कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रूपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ।
त्यसैगरी मोरङ्गको बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख, सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुब सुवेदीले बताए।
सुवेदीका अनुसार प्रदेश १ का पहाडी जिल्लाहरू प्लेजुङ्ग, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरूलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न ५ लाखका दरले ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ।