आज मैथिली आधुनिक साहित्यलाई उर्जा प्रदान गर्ने कवि कोकिल विद्यापतिको स्मृति दिवस मिथिलाञ्चलसहित नेपाल र भारतको विभिन्न स्थानमा मनाइँदै छ।
कात्तिक धवल त्रयोदशी अर्थात् आजकै दिन मैथिली भाषाका महाकवि विद्यापतिको अवसान भएको थियो। उनले आफ्नो अवसानको विषयमा देहत्याग गर्नुभन्दा अगाडि नै लेखेका थिए।
मायबाप जो सदगति पाब
सन्तति अनुपम सुख आब।
विद्यापति आयु अवसान
कात्तिक धवल त्रयोदशी जान।।
उनको देहावसान भएको करिब सात सय वर्ष हुन लाग्दा पनि उनलाई अहिले पनि विश्व साहित्यमा स्मरण गर्ने गरिन्छ। मैथिल क्षेत्रमा उनलाई कविभन्दा पनि गीतकारको रुपमा व्याख्या गर्ने गरिन्छ। कवि कोकिल विद्यापतिको जन्म भारतको बिहार राज्यको मधुवनी जिल्लाको विस्फीमा भएको मानिन्छ।
उनको जन्मको विषयमा यकिन तिथिको तथ्यांक नरहे पनि सन् १३४० देखि सन्१३७५ को मध्यमा भएको हुन सक्ने अनुमान गरिन्छ।
विद्यापतिका पिता गणपति ठाकुर मिथिलाका तत्कालीन राजा कीर्ति सिंह र शिव सिंहका दरबारिया कवि थिए। पिता पनि कवि भएकै कारण उनमा पनि साहित्यप्रतिको रुची बढ्न गएको हुन सक्ने अनुमान गरिन्छ। विद्यापतिको काव्य रचनाहरुमा काव्य साधनाका तीन पक्ष देख्न सकिन्छ।
उनको रचनामा आश्रय दाताका लागि यशोगान, श्रृंगार वर्णन र भक्तिभावना पाइन्छ। अभिनव जयदेव, मैथिल कोकिल, रससिद्ध कवि, कवि शेखर, रसिक शिरोमणि, शेखर, कविरत्न, कविरत्न कण्ठाहार लगायत विशेषण एवम् उपनामले उनलाई चिनिन्छ।
विद्वानहरूका अनुसार विद्यापति काव्यिक रचनामा विषय सुहाउँदो रस र भाषा चयन सटिक रहेको पाइन्छ। विद्यापतिले वीररसका लागि अवहट्ट भाषालाई रोजेका थिए भने भक्ति र शृंगार गीतका लागि मैथिली भाषालाई छनौट गरे। अध्यात्म वा शास्त्रजन्य व्यवहारका लागि र राजा वा राजपरिवारको सदस्यको यशोगानका लागि संस्कृत भाषाको सहारा लिएको पाइन्छ। विद्यापति कवि अतिरिक्त भूगोलका ज्ञाता, इतिहासकार, राजनीतिज्ञ, कर्मकाण्डी सँगै समाज सुधारक समेत थिए।
यसलाई विभिन्न धार्मिक ग्रन्थहरूले प्रमाणित गर्छ। उनी दरबारिया कवि रहे पनि दरबारमा मात्रै सीमित थिएनन्। उनी गरिब, धनी, ऊचनीच सबैप्रति समान दृष्टि राख्थे भन्ने कुरा उनका काव्यकृतिहरूले झल्काउँछ।
तत्कालीन समाजमा नारीको स्थान के कस्तो थियो? नारीको प्रेम र विवाह, बालविवाह, बहुविवाह जस्ता विषयमा उनले आजभन्दा करिब सात सय वर्ष अगाडि आफ्ना कविताको माध्यमले कडा प्रहार गरेको पाइन्छ।
यस्तै आमा, सासू, स्त्रीधन, सतीप्रथा, वेश्याको सामाजिक स्थिति, नारीको शृंगार जस्ता व्यक्तिगत एवम् सामाजिक जीवन उनका काव्य रचनाहरूले झल्काउँछ। त्यससँगै मिथिलाको आर्थिक स्थिति, खान पान, भेषभूषा, धार्मिक स्थिति पनि उनको काव्य रचनाहरुमा देख्न सकिन्छ।
विद्यापतिको काव्य रचनामा उनी कतै वैष्णव भक्ति त कतै शैवमार्गतिर उन्मुख भएको देखिन्छ। तर, उनको काव्यले मनुष्यको मानसिक धरातलमाथि उठाउन मद्दत गर्छ र भविष्यप्रति आशा जगाउँछ। उनलाई विश्व मानवधर्मका पक्षपाती रहेको देख्न सकिन्छ। हाम्रै गाउँघरका सामान्य पति पत्नी विद्यापतिको काव्यमा राधा र कृष्णको रूपमा प्रस्तुत भएका छन्। महाकवि विद्यापति आफ्ना पदावलीमा तात्कालिक समाजमा विद्यमान अप्रासंगिक बनिसकेका रुढी, सामाजिक विसंगतिप्रति आक्रोश पोख्नुका साथै व्यंग्य गरेको पाइन्छ।
कविकोलिल विद्यापतिको जन्म भारतीय भूमिमा भए पनि उनको साइनो नेपालसँग विभिन्न कोणबाट जोडिन्छ। इतिहासकारहरूका अनुसार मुसलमान शासकहरूले मिथिलाका तत्कालीन राजा शिव सिंहलाई बन्दी बनाएर दिल्ली पुर्याए।
विद्यापतिले शिवसिंहकी रानीसहित उनका परिवार एवम् सेवकहरूलाई आफ्नो संरक्षणमा राखेर हालको महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित बनौलीमा १२ वर्षभन्दा बढी समय बिताएको मैथिली एवम् संस्कृतका विद्वान डा. गोविन्द चौधरी बताउँछन्।
डा. गोविन्दका अनुसार वनौली प्रवासको समयमा उनले लिखनावली नामक ग्रन्थ लेखेका थिए भने श्रीमद भागवतको मैथिली भाषामा अनुवाद गरेका थिए।
विद्यापतिको कवित्वको प्रभाव उपत्यकाको धार्मिक र सांस्कृतिक जीवनमा पनि परेको देखिन्छ। उनले रचना गरेका भजनहरू मल्लकालदेखि आजसम्म पनि काठमाडौं उपत्यकाका तीन सहरभित्रका देवमन्दिर र भजनपाटीहरूमा गाइन्छ।
काठमाडौं उपत्यकाका देवमन्दिर र भजनगृहमा नेवार समुदायले गाउने भजनहरूमा विद्यापतिका थुप्रै भजनहरू पाइन्छ।
विद्यापतिको काव्यिक व्यक्तित्वमा परस्पर विरोधी विचारधाराको प्रभाव रहेको देखिन्छ। उनी सामन्तीय दरबारी कविहरूको परम्परामा रहे पनि लोकजीवनप्रति पूर्ण सचेत थिए। उनले संस्कृतमा काव्य रचना गरेका थिए तर उनको रसबस भने लोकभाषा मैथिली र अबहट्ठमा थियो ।
नेपालको पूर्व मध्यकाल अर्थात् दशौंदेखि चौधौ शताब्दीको इतिहास त्यति स्पष्ट छैन। त्यस कालको मिथिला क्षेत्रको इतिहास पनि सिलसिलावद्ध पाइँदैन।