पर्साको वीरगंजमा कोरोनाबाट निको हुनेको संख्या बढेको छ।
प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा समेत सबभन्दा प्रभावित भएको वीरगंजका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका संक्रमितहरू कोरोनामुक्त हुँदै गएपछि निको हुनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत एवं कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार वीरगञ्जमा केही दिनयता मात्रै २ सय ६६ जना कोरोनामुक्त भई घर फर्केका छन्।
कोरोना जितेर घर फर्कनेमा नारायणी अस्पतालका ७८ जना रहेका छन् भने १ सय ८८ जना होम आइसोलेसनमा बसिरहेका संक्रमितहरू रहेको कोरोना फोकल पर्सन श्रीवास्तवले बताए।
हाल पर्सा जिल्लामा २ हजार २ जना सक्रिय संक्रमित छन्।
सक्रिय संक्रमितमध्ये वीरगंजका विभिन्न अस्पतालमा २ सय ४ जनाको उपचार भइरहेको र अन्य संक्रमित होम आइसोलेसनमा रहेको श्रीवास्तवले बताए।
पर्साका संक्रमितमध्ये २४ जना भेन्टिलेटरमा, ३७ जनाको आइसियूमा र १ सय ४२ जनाको कोभिड वार्डमा उपचार भइरहेको श्रीवास्तवले बताए।
संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढीको अवस्था सामान्य रहेको समेत श्रीवास्तवले बताए।