पुरै घरै आफ्नो भन्थेँ
म त केवल घरको छिँडी रहेछु
पिर वेदना यी दुई
आँखामा बोकी हिँडिरहेछु।
जबसम्म उनीहरूको लागि गरेँ
गोरु झैँ जोतिई नै रहेँ
बिरामी भए नि, आँसु झरे नि
ऐया नभनी नै सहेँ।
यसो राम्रो, यसो मीठो
उनीहरूलाई नै दिन्थेँ
लुगा फाट्दा आफूलाई नकिनी
उनीहरूको लागि नै किन्थेँ।
बूढो भएँ, शक्ति गयो
अब सहाराको जरुरत भयो
न छोराको भर न छोरीको भर
बूढीको सम्झना मात्र रह्यो।
दुःखले आर्जेको आफ्नै सम्पत्ति
आज सबै अलपत्र भएछन्
छोराछोरी आफ्नै परिवारसँग
उतै अमेरिकामै हराएछन्।
हे दैव अब कहिले पनि
कसैका छोराछोरी विदेश नजाउन्
शारीरिक मानसिक जो सास्ती पाएँ
कोही पनि बूढाबूढीले नपाउन्।