साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन्।
ती पूर्व कर्मचारीले साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताका इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारीहरू जासुसीका लागि उपलब्ध गराएको वाल स्ट्रिट जर्नलले लेखेको छ।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नागरिक ४४ वर्षीय अहमद अबुआम्मोले महँगा घडी र लाखौं डलर रकम लिएर साउदी अरबका आलोचकसम्बन्धी विवरणहरूको जानकारी दिएका थिए।
सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायाधीशको इजलासले उनलाई जालसाजी र ‘वायर फ्रड’ का रूपमा ठहर गरेको हो। अबुअम्मोलाई यसबाहेक अन्य पाँच वटा अभियोग पनि थिए जसमा भने उनी निर्दोष ठहरिएका छन्।
अबुआम्मो सन् २०१३ देखि २०१५ सम्म ट्विटरमा कार्यरत थिए। उनले संस्थामा रहेर मध्यपूर्व र उत्तरी अफ्रिकाका वरिष्ठ प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन काम गरेका थिए।
उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई उपलब्ध गराएका थिए। अबुअम्मोले करिब ६ हजार ट्विटर खाताका विवरण जासुसीका निम्ति दिएका बताइएको छ।