सर्लाहीमा वन संरक्षणको क्रममा मृत्युवरण गरेका वन संरक्षक रामेश्वर महतोको परिवारलाई आर्थिक सहयोग गरिएको छ।
ईश्वररपुर नगरपालिका-२ स्थित घरमा पुगेर प्रदेश वन सचिव जीवनाथ पौडेल सहितको टोलीले सहयोग गरेको हो।
सागरनाथ वन परियोजनाबाट २५ हजार, सचिव जीवनाथ, धनुषा र सर्लाहीका डिभिजनल वन अधिकृतहरूबाट जनही ५-५ हजार गरी जम्मा ४० हजार रूपैयाँ हस्तान्तरण गरिएको परियोजनाका व्यवस्थापक खेमलाल सेन्चुरीले जानकारी दिए।
परियोजनाको आज बसेको बैठकले दाहसंस्कार र किरिया खर्च बापत २५ हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। वनसचिव जीवनाथ र डिभिजनल वन अधिकृतहरूले प्रदेशभरी कार्यरत वनकर्मीबाट सहयोग जुटाएर पठाउने प्रतिबद्धता जनाएका छन्। रामेश्वरको बुहारी सबिता महतोले सहयोग रकम बुझेकी थिइन्।
शनिबार बिहानै ५ बजेतिर परियोजना क्षेत्रमा रूख काटेको आवाज सुनेर साइकलमा निस्केका रामेश्वरको टाउको काटिएको अवस्थामा शव भेटिएको थियो। आइतबार प्रहरीले टाउको पनि नजिकैकौ झाडीमा फेला पारेको छ। शंकास्पद एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।