अल्ट्रासाउण्ड परीक्षणको एउटा प्रविधि हो। अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ।
अल्ट्रासाउण्डमा ‘हाइफ्रक्वेन्सी’ को ‘साउण्ड वेभ’ प्रयोग गरिन्छ। यसमा विकिरणको प्रयोग नहुने भएकाले बच्चादेखि वृद्धसम्मलाई यो प्रविधिको प्रयोग गरेर समस्याको पहिचान गर्न सकिन्छ।
शरीरका धेरै अंगको अल्ट्रासाउण्ड गर्न सकिन्छ। सबैभन्दा धेरै पेटको अल्ट्रासाउण्ड गरिन्छ। कलेजो, किड्नी, पित्तथैलीलगायत शरीरका भित्री अंगको अवस्था पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ।
प्रोस्टेट भएर पिसावमा समस्या छ कि छैन भनेर थाहा पाउन पनि अल्ट्रासाउण्ड गर्ने गरिन्छ।
महिलाको पाठेघरमा समस्या छ कि छैन भनेर अल्ट्रासाउण्ड गरिन्छ। गर्भवतीका लागि यो बरदान जस्तै भएको छ। गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म आवश्यकताको आधारमा अल्ट्रासाउण्ड गर्न सकिन्छ। जुन जरूरी पनि छ।
अल्ट्रा साउण्डले गर्भवती आमा र बच्चामा हुने समस्या पत्ता लगाएर त्यसको निराकरण गर्न सकिन्छ। थाइराइडको समस्या होस् या स्तनको समस्यामा समेत यसको प्रयोग हुन्छ। शरीरका धेरै अंगको समेत अल्ट्रासाउण्ड गरिन्छ। रोग निदानको लागि यो प्रविधि निकै जरूरी छ।
अहिले अल्ट्रासाउण्डको प्रयोग बढेको छ। यो विशुद्ध विकिरणरहित, कम खर्चिलो भएकाले प्रयोग बढेको हो। कुनै चिरफार नगरि कम समयमा शरीरको समस्या पत्ता लगाउन सक्ने भएकाले बिरामीलाई यसले धेरै सहयोग गर्छ।
अहिले डेंगीको प्रकोप निकै बढेको छ। सामान्य र मध्यम लक्षण भएका बिरामीलाई अल्ट्रासाउण्ड गर्न जरूरी छैन। तर गम्भीर खालका बिरामीलाई अल्ट्रा साउण्ड गरेर शरीरको समस्या पत्ता लगाउनैपर्छ।
शरीरभित्र रक्तश्राप भएको छ कि छैन भनेर यसको माध्यमबाट हेर्न सकिन्छ। त्यस्तै, कलेजो, फोक्सो, किड्नीलगायतका अंगमा डेंगीका कारण समस्या भए नभएको थाहा हुन्छ। त्यसको आधारमा उपचार गर्न सहज हुन्छ।
अल्ट्रासाउण्डको उपयोग र रोग पहिचानमा यसको भूमिकाबारे हामीले कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. केदार खड्गीसँग भिडिओ कुराकानी गरेका छौ।
हेर्नुहोस् भिडिओ