पाठेघरभित्र शुक्रकिट राखेर गर्भधारण गर्ने प्रक्रिया आइयुआई हो।
३५ वर्ष मुनिको उमेरका दम्पती एक वर्षसम्म सँगै बस्दा र ३५ वर्ष माथिका दम्पती ६ महिनासम्म सँगै बस्दा पनि बच्चा भएन भने उनीहरूलाई निःसन्तानको समस्या छ भनेर बुझ्नुपर्छ। यस्तो अवस्थामा आइयुआई गरिन्छ।
त्यस्तै पुरूषको शुक्रकिटको समस्या छ भने महिलाको अण्डामा समस्या, ट्युब ब्लक छ भने समेत आइयुआई गरिन्छ। कहिलेकाहीँ कुनै समस्या नहुँदा समेत बच्चा नबसेको हुन्छ। त्यस्तो बेलामा पनि आइयुआई गर्नुपर्छ। यसको सफलता दर धेरै छैन। १० जनामा २ देखि ३ जनालाई मात्र सफलता मिल्छ। ३५ वर्षभन्दा माथिको उमेर समूहमा भने १० देखि १५ प्रतिशत मात्रै सफलता मिल्छ।
आइयुआई गर्दा महिनावारीको साइकलमा औषधि दिएर अण्डा बनाउने र फुटाउने गरिन्छ। श्रीमानको शुक्रकिट ल्याबबाट निकालेर पाठेघरमा राखिन्छ। पाठेघरमा राखेको शुक्रकिट र फुटेको अण्डाबीचमा परागसेचन हुनुपर्छ।
युवा उमेर छ भने सुरूमा आइयुआई गर्नुपर्छ। एकै पटक आइभिएफ गर्ने होइन। आइयुआई असफल भयो भने मात्र आइभिएफ गर्ने हो। दुई वटै ट्युब ब्लक छ भने महिनावारी सुकेको छ लगायतका अवस्थामा सुरूमै आइभिएफ गर्नुपर्छ।
कतिपय अवस्थामा औषधि खाएर त कतिपय अवस्थामा काउन्सिलिङले ठीक हुन्छ। कति दम्पती सँगै बसेका हुँदैनन्,कसैले राम्रोसँग सम्बन्ध राखेका हुँदैनन्, कतिपयले खानपिनमा ध्यान दिएका हुँदैनन्। त्यस्ता दम्पतीलाई काउन्सिलिङले काम गर्छ।
अहिले गर्भ नरहने समस्या धेरै बढेको भन्ने होइन। किनकि विगतमा यस्ता समस्या बाहिर आउने थिएनन्। उपचारको सुविधा पनि थिएन। १० वर्षअघिसम्म निःसन्तान दम्पती विदेश जान बाध्य थिए। विदेश जान नसक्नेहरू यसै बसेका हुन्थे। तर अहिले नेपालमै सुविधा भएकाले धेरै नि:सन्तान दम्पतीले बच्चा जन्माउन सकेका छन्।
नेपालमा युवाहरू विदेश जाने क्रम धेरै बढेको छ। जसले गर्दा लामो समय दम्पती सँगै बस्न पाउँदैनन्। उनीहरू बढीमा ३ देखि ४ महिना बसेका हुन्छन्। त्यति छोटो समयमा गर्भ रहन्छ भन्ने हुँदैन। त्यस्तो अवस्थामा श्रीमानको शुक्रकिट फ्रिज राख्न मिल्छ। जसले गर्दा उपयुक्त समयमा आइयुआई वा आइभिएफ गर्न मिल्छ।
(निःसन्तान रोग विशेषज्ञ डा. श्रीस ललितपुर पुल्चोकस्थित नेपाल इन्टरनेसनल फर्टिलिटी सेन्टर र एन्जल फर्टिलिटी सेन्टर महाराजगन्जमा कार्यरत छन्।)