पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामुहिक राजीनामा दिएका छन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा नयाँ भर्नाका लागि बुधबार, बिहीबार र शुक्रबार फारम वितरण र असोज २२ गतेबाट प्रवेश परीक्षाको मिति तोकिएको थियो। यो मितिमा फारम भर्न र प्रवेश परीक्षा गराउन नसकिने भन्दै बोर्डका अध्यक्ष–सदस्यहरूले राजीनामा दिएका हुन्।
परीक्षा बोर्डका अध्यक्ष सुशीलबहादुर बज्राचार्य, सदस्य इन्द्रप्रसाद आचार्य, सदस्य सञ्जीवप्रसाद पाण्डे, सदस्य किरणचन्द्र दाहालले संयुक्त राजीनामा बुझाएका छन्।
त्यस्तै परीक्षा बोर्डका सदस्य सचिव विदुर ढकाल, सल्लाहकारद्वय सुरज लामिछाने र हिक्मतराज जोशीले पनि राजीनामा बुझाएका छन्।

‘प्रस्तुत विषयमा मिति २०८०।०६।१५ गतेको श्रीमान् डीनज्यूको हस्ताक्षर भएको पत्रानुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षाको फाराम मिति २०८०।०६।१७, १८ र १९ गतेसम्म भर्ने समय थप गरिएको र २०८०।०६।२२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेखित पत्र अनुसार उक्त मितिमा आवेदन फाराम भराउन तथा परीक्षा सञ्चालन गर्न नसकिने भएकोले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयबाट मिति २०८०।०४।१८ को पत्रबाट गठन भएको प्रवेश परीक्षा बोर्डका हामी अध्यक्ष, सदस्य, तथा सल्लाहकारहरूले संयुक्त राजिनामा पेश गरेका छौं,’ राजीनामा पत्रमा भनिएको छ।
इन्जिनियरिङ शिक्षाको शुल्क विवादले उग्ररूप लिएको छ। मंगलबार नै पुल्चोक क्याम्पसका विभागीय प्रमुखहरूले स्ववियुलाई आफ्नो जिम्मेवारी सुम्पिएका थिए।
यो पनि पढ्नुहोस्
इन्जिनियरिङमा शुल्क विवादः पुल्चोक क्याम्पसका विभागीय प्रमुखले स्ववियुलाई सुम्पिए जिम्मेवारी
इन्जिनियरिङ अध्ययन संस्थानले दोब्बर बढीले बढायो शुल्क, अनशन र प्रदर्शनमा विद्यार्थी
१८ स्ववियु सभापतिहरूले भने- इन्जिनियरिङ अध्ययन संस्थानले शुल्कवृद्धि फिर्ता लिनुपर्छ