नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीका २१ वर्षीय सागर गुप्ता छन्।
आज बिहान ७ बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ केरवानीमा नियमित चेकजाँचमा प्रहरी नायब निरीक्षक विष्णुराज तिमल्सेनाको कमान्डमा टोली खटिएको थियो।
७:१० बजेतिर दक्षिणतर्फबाट आएको लु ६४ प ३७८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार तीन जनामध्ये २ जना भागेका थिए।
भाग्न नभ्याएका सागर गुप्तालाई नियन्त्रणमा लिइ उनले बोकेको कालो झोला खानतलासी गर्दा लागुऔषध बुप्रेनोर्फाइन १९६ एम्पुल, डाइजेपाम १९८ एम्पुल, फेनेर्गन १९८ एम्पुल र हेरोइनजस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद भएको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए।
पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय राखिएको र फरार रहेका दुई जनाको खोजी भइरहेको डिएसपी बोहराले जानकारी दिए