रौतहटमा बहिनीको हत्या गरेको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ।
परोहा नगरपालिका-८ नरकटिया टोल बस्ने २० वर्षीया तेतरीकुमारी रामको हत्या गरेको आरोपमा प्रहरीले उनका २२ वर्षीया दाइ दिपेन्द्रकुमारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयकी डिएसपी एलिजा गिरीका अनुसार आइतबार बिहान प्रहरीले दिपेन्द्रकुमारलाई पक्राउ गरेको हो।
दिपन्द्रकुमारले घरायसी विवादको कारण आवेगमा आएर बाँसको मुङ्ग्रोले हिर्काएका थिए। त्यसपछि गम्भीर घाइते भएकी तेतरीकुमारीलाई उपचारको लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो।
त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।
पक्राउ परेका दिपेन्द्रकुमारमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।