काठमाडौंको चन्द्रागिरिस्थित रोकिएको केबलकार पुन:सञ्चालनमा आएसँगै यात्रुहरूको उद्धार भएको छ।
बुधबार दिउँसो साढे १ बजे प्राविधिक समस्याका कारण बीचमै रोकिएको केबलकार पुन: सञ्चालनमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
८ जना यात्रुलाई टावर नजिकैबाट ओरालिएको थियो। अन्यलाई भने केबलकार सञ्चालन भएसँगै सकुशल उद्धार गरिएको हो।
चन्द्रागिरिको माथिल्लो स्थानमा रहेका मानिसहरूलाई भने कसरी तल ल्याउने भन्ने बुझिरहेको प्रहरीले जनाएको छ।
‘माथितिर डेढ-दुई सय जना जति होला। उनीहरूलाई कसरी तल ल्याउने भन्नेबारे काम भइरहेको छ,’ उनले भने।
प्राविधिक समस्याका कारण केबलकार रोकिएपछि डिब्बामा करिब ५०-६० जना यात्रुहरू फसेका थिए।
फसेको खबरपछि ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुबाट २६ जनाको टोली खटिएको थियो।