पाल्पाको अर्चलेमा धेरै भारी वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबिस घन्टामा त्यहाँ १०७.४ मिलिमिटर वर्षामा मापन भएको छ।
पछिल्लो ६ घन्टामा १०७ र तीन घन्टामा ३८ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
पछिल्लो चौबिस घन्टामा काठमाडौंमा पनि भारी वर्षा मापन भएको छ।
कपनमा पछिल्लो चौबिस घन्टामा ६४.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सुन्दरीजलमा ४१.४ मिलिमिटर, पानीपोखरीमा २५.६ मिलिमिटर, ललितपुरको लेलेमा २६ मिलमिटर वर्षा मापन भएको छ।
त्यस्तै स्याङ्जाको पञ्चमुलमा ८५.२ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको बासखर्कमा ४७ मिलिमिटर, मकवानपुरको रजैयामा ४३ मिलिमिटर, नवलपरासीको देउरालीमा ७३ मिलिमिटर, पाल्पाकै जल्पमा ३९ मिलिमिटर, कैलालीको बचिलामा ४७ मिलिमिटर, डडेलधुराको जोगबुढामा ३५ मिलिमिटर वर्षा मापन भएको छ।

सोमबार दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा र राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।