आइतबार बिहान नारायणी नदीको किनारमा मान्छेमाथि आक्रमण गरेर लुकेको पाटेबाघलाई १६ घन्टापछि नियन्त्रणमा लिइएको छ।
बिहान सवा ५ बजेतिर नारायणघाटस्थित नदी किनारमा मर्निङवाक गरिरहेका भरतपुर-२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरेर बाघ नजिकैको झाडीमा लुकेको थियो।
बिहानैदेखि ड्रोन क्यामरा र हात्तीसहित खटेको प्राविधिक समूह राति सवा ९ बजेतिर बाघलाई नियन्त्रणमा लिन सफल भएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका चिकित्सक, प्राविधिक र वन कार्यालयका कमर्चारीहरूको प्रयासमा बाघलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चितवनका प्रमुख थीरबहादुर कार्कीले जानकारी दिए।
बाघ नियन्त्रणमा लिने क्रममा दुईवटा हात्ती तर्सिएर भागेका थिए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर षडौलाले नियन्त्रणमा लिइएको बाघलाई आइतबार सौराहास्थित इनक्लोजरमा लगेर राखिने बताए।
बाघको आक्रमणमा परेर घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको छ।