दाङमा भएको जीप दुर्घटनामा सात जना घाइते भएका छन्।
आइतबार बेलुकी साढे ७ बजे तुलसीपुरबाट सल्यान जाँदै गरेको रा१ज ७७० नम्बरको जीप आफै अनियन्त्रित भई शान्तिनगर गाउँपालिका-१ हाँडीचारमा दुर्घटना भएको थियो।
घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका-३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको अवस्था गम्भीर छ। टाउको र छातीमा चोट लागेका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
अन्य घाइतेमा ऐश्वर्य केसी, पार्वती केसी, रेखा वली, रोजिका वली, सरिता खड्का र लीला बास्तोला रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
त्यस्तै, दाङको बागरमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
आइतबार बेलुकी ८ बजेतिर दंगीशरण-६ बागरमा तुलसीपुर आउँदै गरेको बाप्र०२–०४७ प ७९७८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको थियो।
घाइते हुनेमा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका-३ हेकुलीका २७ वर्षीय आरएन चौधरी, त्यही ठाउँका १६ वर्षीय राज चौधरी र पैदल यात्री दंगीशरण-६ की ४५ वर्षीया डम्मरकुमारी परियार छन्।
पैदल यात्री परियारलाई थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गरिएको छ। अन्य दुई जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ। घाइते सबैलाई हातखुट्टा र अनुहारमा चोट लागेको छ।