मोरङमा दुई बालिकाको शव भेटिएको छ।
सुन्दरहरैँचा नगरपालिका-७ निवासी अर्जुन कार्की र अस्मिता पौडेलका एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव भेटिएको हो।
शनिबार उनीहरूको शव घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।
उनीहरूको पुरानो घर धनकुटा भए पनि अहिले सुन्दरहरैँचा नगरपालिकामा भाडामा बसेर आफ्नै घर निर्माण गरिरहेका प्रहरीले जनाएको छ।
डिएसपी बस्नेतका अनुसार शुक्रबार श्रीमानसँग विवाद भएपछि श्रीमती अस्मिता घरबाट निस्किएकी थिइन्। उनले आफ्ना दुई छोरीलाई पनि सँगै लिएर हिँडेकी थिइन्।
शनिबार भने दुई छोरीको शव फेला परेको हो। अस्मिता भने अहिलेसम्म सम्पर्कमा आएकी छैनन्।
'बालिकाको शव नजिकै विषको बट्टा पनि फेला परेको छ,' डिएसपी बस्नेतले भने, 'बालिकाहरूको शरीरमा कुनै पनि चोटपटक छैन। मृत्युको यकिन कारण पोष्टमर्टमपछि खुल्छ।'
बालिकाहरूको शव पोस्टमर्टमका लागि धरान पठाइएको छ। अहिले अस्मिताको खोजी भइरहेको डिएसपी बस्नेतले बताए।