शिक्षकहरूको सडक आन्दोलन बिहीबारदेखि स्थगित भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुसँग भएको ९ बुँदे सहमतिलाई अनुमोदन गरेपछि नेपाल शिक्षक महासंघले काठमाडौंकेन्द्रित सडक आन्दोलन स्थगित गरेको हो।
'बुधबार मन्त्रिपरिषदले शिक्षकहरूसँगको सहमतिलाई अनुमोदन गरेपछि सडक आन्दोलन स्थगित गरेका छौं,' नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानीमाया पराजुलीले सेतोपाटीसँग भनिन्।
बुधबार मन्त्रिपरिषद् बैठकले शिक्षकहरूसँगको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यस्तै प्रमुख सचेतकहरूसहितको बैठकबाट विद्यालय शिक्षा ऐन असार १५ गतेसम्म जारी गरिसक्ने सहमति पनि भएको थियो।
'मन्त्रिपरिषदबाट सहमति कार्यान्वयन र संसदबाट ऐन जारी हुने भएपछि चैत २० गतेदेखि जारी सडक आन्दोलन रोक्ने सहमति भइसकेको छ,' सहअध्यक्ष पराजुलीले भनिन्।
ऐन जारी नहुँदासम्म कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न बिहीबार नै महासंघको बैठक बस्ने पराजुलीले बताइन्।
'सडक आन्दोलनमात्रै स्थगित भएको हो। ऐन जारी हुने अवस्था नबनुन्जेल के गर्ने भन्ने विषयमा महासंघले आज छलफल गरेर निर्णय लिन्छ,' उनले भनिन्।
उनले शिक्षकहरू तत्कालै विद्यालय फर्कने कि पदाधिकारीसहितका दलीय घटकमा आबद्ध केही शिक्षकहरू काठमाडौंमै बस्ने भन्ने पनि बैठकले निर्क्योल गर्ने बताइन्।
शिक्षकहरूसँग भएका ९ बुँदे सहमति यसप्रकार छन्—
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२. अस्थायी प्रकृतिका शिक्षक; राहत, अस्थायी (करार) साविक उमावि, सिकाई अनुदान, प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने।
४. आगामी आर्थिक वर्ष २०८२/०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।