सुनसरीको धरानमा प्रहरीले एउटा ट्रकबाट ७८३ किलो गाँजा बरामद गरेको छ।
बुधबार सशस्त्र प्रहरीको टोलीले धरान उपमहानगरपालिका-१३ निशाने डाँडास्थित कोशी लोकमार्ग सडकमा भेडेटारबाट धरानतर्फ जाँदै गरेको ट्रकमा गाँजा भेट्टाएको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नम्बर प्लेट नभएको ट्रकलाई शंका लागेर नेपाल नं१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।
ट्रकको चालक सिटमाथि बक्स बनाएर २२ वटा पोकामा लुकाइछिपाइ ल्याइँदै गरेको गाँजा बरामद भएको हो।
ट्रकभित्र राखिएको अवस्थामा ना ७ ख २८१ लेखिको नम्बर प्लेट पनि बरामद भएको डिएसपी थापाले जानकारी दिए।
गाँजा बरामद भए पछि ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका-६ बस्ने १८ वर्षीय आकाश राईलाई नियन्त्रण लिएको थियो।
थप चेकजाँचपछि ट्रक र पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए।