बर्दिया प्रहरीले झन्डै २२ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिका– ११ आरपासीका २७ वर्षीय कुमार वाइबा छन्।
उनीहरूलाई पक्राउपछि सोमबार बेलुका बर्दिया प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालका अनुसार प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले बाँसगढी नगरपालिका– १ चेपाङमा सवारी जाँचका क्रममा आइतबार बेलुकी उनीहरूलाई पक्राउ गरेको थियो।
जाजरकोटबाट नेपालगन्जतर्फ आउँदै गरेको शाहीले चलाएको लु ८० प १४६७ नम्बरको मोटरसाइकल पछाडि सवार बाइवाले बोकेको झोला जाँच गर्ने क्रममा २१ केजी ५७६ ग्राम अफिम फेला परेको डिएपी पालले सेतोपाटीलाई बताए।
पक्राउ परेकाहरू विरूद्ध अनुसन्धान गर्न सोमबार जिल्ला अदालत बर्दियाले पाँच दिनको म्याद दिएको छ।