नेपाल तरूण दल लमजुङको पाँचौं अधिवेशनमा प्रतिनिधि छनोटमा विवाद हुँदा खुकुरी हानाहान भएको छ।
खुकुरी लगायत हातहतियार प्रयोग गरी भएको आक्रमणमा परेर ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
खुकुरी प्रहारबाट बेसीसहर– ९ का वडाध्यक्ष एवं तरूण दल क्षेत्रीय सभापति खुसीजंग गुरूङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन्। उनीहरूको जिल्ला अस्पताल बेसीसहरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि चितवन रिफर गरिएको लमजुङ प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए।
उनका अनुसार बाँकी घाइतेहरू शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको जिल्ला अस्पतालमै उपचार गरिएको छ।
खुकुरी प्रहार गरेर घाइते भए पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्। घाइतेका तर्फबाट किटानी जाहेरी लिने प्रक्रियामा रहेको डिएसपी बोहोराले बताए।
'तरूण दलको अधिवेशनमा प्रतिनिधि छनोटको विवादले हानाहान भएको बुझिएको छ,' उनले सेतोपाटीलाई भने, 'अहिलेसम्म कोही पक्राउ परेका छैनन्। हामी जाहेरी लिने प्रक्रियामा छौं।'
तरूण दल लमजुङको अधिवेशनमा वडा तहबाट चार जना प्रतिनिधि छनोट हुने र त्यसबाहेक समावेशी प्रतिनिधि र वडामा ३५ जना भन्दा बढी साधारण सदस्य भए ३५ जनाबाट एक जना जिल्ला प्रतिनिधि छनोट गर्नुपर्ने विधानको व्यवस्था छ।

तरूण दलको जिल्ला अधिवेशनमा अधिकांश वडाका प्रतिनिधि छनोट नै नगरी खाली पाना राखिएको भन्दै अधिवेशनमा विवादसमेत भएको थियो।
लमजुङमा रहेका ८ वटा स्थानीय तहमा ७२ वटा वडा छन्। वडाबाट आउने प्रतिनिधि, समावेशी प्रतिनिधि, तरूण दलको जिल्ला कार्यसमिति लगायत गरी झण्डै ५ सय जना प्रतिनिधि अधिवेशनमा रहनुपर्ने विधानको व्यवस्था रहेको तरूण दल लमजुङका एक नेताले बताए।
'पाँच सय जना प्रतिनिधि हुनुपर्ने ठाउँमा धेरै वडाबाट प्रतिनिधि नै छनोट गरिएन,' ती नेताले भने, 'सुन्दरबजार नगरपालिकाको धुसेनीबाट छैन, अरू पनि धेरै वडाबाट प्रतिनिधि छैन।'
प्रतिनिधि नै छनोट नगरी अधिवेशन कब्जा गरेर सभापति शेरबहादुर देउवा पक्षले आफू अनुकूल कार्यसमिति गठन गर्न खोजेको ती नेताले बताए।
नेपाली कांग्रेस लमजुङका अर्का नेताका अनुसार तरूण दलमा सभापति देउवा पक्ष र शेखर कोइराला–गगन थापा समूहबीच प्रतिनिधि छनोटमा विवाद भएपछि उक्त घटना भएको हो। कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ सभापति देउवा पक्षका छन्। निवर्तमान जिल्ला सभापति एवं गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल शेखर–गगन पक्षका छन्।
प्रतिनिधि छनोटमा देउवा पक्षले खुकुरी लगायत हतियार प्रयोग गरी आक्रमण गरेको शेखर–गगन पक्षले आरप लगाएको छ। आक्रमणमा परी गम्भीर घाइते भएका पाँचै जना शेखर–गगन पक्षको भएकाले एकतर्फी आक्रमण भएको उनीहरूको दाबी छ।
यता, देउवा पक्षका जिल्ला सभापति एवं गण्डकीका अर्थमन्त्री डा. टकराज गुरूङले जिल्ला अधिवेशन चलिरहेका बेला बाहिरबाट हुलहुज्जत गरेकाले घटना भएको बताए। बाहिरबाट अधिवेशन भाँड्न खोजेको पनि उनले आरोप लगाए।
'बाहिरबाट जानेले हुलहुज्जत गरेर आक्रमण गरे। आक्रमण गरेपछि थापेर बस्ने हो र?' उनले भने, 'यो पक्ष र ऊ पक्ष भन्दा पनि सबै पार्टी कार्यकर्ता हुन्। त्यहाँ हुलहुज्जत गर्न जाने को थिए, थिएन मलाई थाहा भएन।'
बाहिरबाट हतियार लिएर गएर आक्रमण प्रयास भएको भन्दै उनले प्रहरीबाट छानबिन गरी दोषीलाई कारबाही हुने बताए।
'हामी पार्टी नेतृत्व बसेर छलफल गर्छौं। घटना नजिकबाट हेर्छौं,' उनले भने, 'प्रहरीबाट छानबिन गरेर दोषीलाई कारबाही गर्न सघाउँछौं।'
शेखर–गगन पक्षका लमजुङ कांग्रेसका निवर्तमान सभापति एव गण्डकीका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले योजनाबद्ध आक्रमण भएको दाबी गरे।
'म र जीतजंग बस्नेत गफ गर्दै थियौं। बाहिर हातहतियारसहित आक्रमणमा उत्रिएछन्,' उनले भने, 'नेपाली कांग्रेसको भ्रातृ संस्थाको अधिवेशनमा हतियारसहित आक्रमण होला भनेर कल्पना पनि गरिएको थिएन।'
अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गराउन भन्दा पनि कब्जा गर्ने नियत देखिएको भन्दै उनले विधान अनुसार संगठन चलाउन माग राखे।
'तरूण दलको अधिवेशनमा वडा तहबाटै स्वच्छ हिसाबले प्रतिनिधि आउनुपर्छ। जिल्ला र केन्द्रमा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ,' उनले भने, 'कब्जा गर्न हतियार उठाउने कुरा पार्टीको नीति र सिद्धान्त विपरीत भयो।'
घटना छानबिन गरी कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरे।