बाँकेको कोहलपुरमा ९ वर्षीय कुशल बुढाको हत्या भएको घटनामा नयाँ तथ्य फेला परेको छ।
वैशाख १५ गते मृत फेला परेका कुशलको हत्या गरेको आरोपमा उनकै आमा यशोदा बुढा र सौतेला बुबा निरकनाथ योगी प्रहरी हिरासतमा छन्।
उनीहरूमाथि सोधपुछ र अनुसन्धानबाट अर्का एक जना पुरूषको भूमिका रहेको खुलेको हो।
कुशल, आमा यशोदा र सौतेला बुबा निरकनाथसँगै कोहलपुर-११, कृषि चोकमा भाडामा बस्दै आएका थिए। तर उनी वैशाख ८ गते बेलुकीदेखि बेपत्ता भए।
स्थानीय गोठाला गएका एक व्यक्तिले हातखुट्टा देखेपछि वैशाख १५ गते शव फेला परेको थियो।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ माइती भएकी यशोदाले विगतमा बाँकेको जानकी गाउँपालिका–३ का पुरूषसँग विवाह गरेकी थिइन्। कुशल उनीबाटै जन्मिएका थिए।
ती पुरूषले आत्महत्या गरेपछि करिब ७ वर्षअघि दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का निरकनाथसँग दोस्रो विवाह गरेकी थिइन्। योगी रोजगारका लागि भारत आउजाउ गर्ने गर्थे। यशोदा भने कोहलपुरकै अस्पतालमा सरसफाइको काम गर्थिन्।
निरकनाथ घटना हुनुभन्दा केही दिनअघि मात्रै भारतबाट नेपाल फर्किएका थिए। त्यसैले पनि उनी र यशोदाले नै मिलेर कुशलको हत्या गरेको हुनुपर्ने प्रहरीको अनुमान थियो।
यसअघि छोरा कसको हो भन्ने विषयमा विवाद हुँदा कुशलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो।
तर अनुसन्धानकै क्रममा कुशलको हत्या गर्ने प्रमुख योजनाकार नै अर्कै रहेको खुलेको हो।
यशोदा र ती पुरूषबीच प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ। तर पछिल्लो समय यशोदाले उनलाई बेवास्ता गर्न थालेकी थिइन्।
रिसाएका ती युवकले सुरूमा यशोदाकै हत्या योजना बनाएको प्रहरीसमक्ष बताएका छन्। पछि कुशललाई मारेर बदला लिन योजना बनाएको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।
डिएसपी पातलीका अनुसार प्रहरी हत्याको टार्गेट यशोदा थिइन्।
परिस्थितिले तत्काल त्यो सम्भव हुने नदेखेपछि बालकको हत्या गर्ने योजना बुनेको प्रहरी बताउँछ।
‘कुशलको शव फेला नपरेको भए र प्रहरीले तत्काल सक्रियता नदेखाएको भए यशोदाको ज्यान पनि खतरा हुनसक्थ्यो,’ डिएसपी पातलीले भने, ‘बालकको हजुर बुवा आमाले आशंका गरेर दिएको जाहेरीको आधारमा यशोदा र उनका श्रीमानलाई तत्काल पक्राउ परेको हुँदा थप घटना हुन पाएन। दुई-चार दिन ढिला भएको भए यशोदाको ज्यान पनि खतरामा पर्ने अनुसन्धानबाट खुलेको छ।’
घटनाका प्रमुख योजनाकार अहिले फरार छन्। उनको नाम प्रहरीले गोप्य राखेको छ।
यशोदा र उनीबीच केही लेनदेनसमेत रहेको खुलेको छ।
‘आफूलाई वास्ता गर्न छोडे पछि हत्याको पहिलो टार्गेट यशोदा भएपनि तत्काल उनको हत्या गर्ने वातावरण नबनेपछि बालकलाई टार्गेट गरेको खुल्छ,’ उनले भने, ‘प्रेमी भनिएकी आमासँग बदला लिन र उनलाई तर्साउन निर्दोश छोरा कुशललाई फकाएर एकान्त ठाउँमा लगेर निर्मम हत्या गरेको खुलेको छ।’
घटना अनुसन्धान गरिरहेकी इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार प्रमुख योजनाकार युवक र बालक कुशलको राम्रो चिनजान थियो।
ती पुरूषले कुशललाई वैशाख ८ गते घर नजिकै चौरमा साइकल खेलाएर राखिरहेका थिए। उनलाई घर पुर्याइ दिने अटोमा राखेर लगेका थिए।
कुशललाई चकलेट किनेर लगिदिएकाले पनि लोभिएको हुनसक्ने उनले बताइन्।
उनका अनुसार प्रमुख योजनाकार पुरूषले सिसिटिभीबाट जोगिनका लागि भित्री सडकको प्रयोग गरेका थिए।
‘सिसिटिभीबाट जोगिन भित्री बाटो प्रयोग गरे। तीन घण्टा लगाएर राति नौलापुर पुर्याए। त्यहाँबाट ओर्लिए लगत्तै टाउकोमा लाठीले प्रहार गरेका छन्,’ उनले भनिन्।
पछि कुशलको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको उनको भनाइ छ।
हत्या पछि ती पुरूष र हत्यामा संलग्न व्यक्तिहरूले कुलोमा परालले कुशलको शव छोपेर फरार भएका थिए।
घटना पछि छोरा हराएको भन्दै यशोदाले इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन्।
डिएसपी खनालका अनुसार कुशलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६/७ जनालाई पक्राउ गरिसकेको छ।
वैशाखमै प्रहरीले कुशलको हत्यामा प्रत्यक्ष संलग्न तथा सहयोगी भूमिका खेलेका तीन जनालाई पक्राउ गरिसकेको थियो। उनीहरूको बयानका आधारमा थप मानिस पक्राउ परेपनि मुख्य योजनाकार भने फरार रहेको हुँदा प्रहरीले कसैको पनि नाम सार्वजनिक गरेको छैन।
कपाल काट्ने पसलमा हत्या गर्ने योजना बनेको उनले बताइन्।
प्रहरीले आइतबार मात्रै नेपालगञ्जबाट एक जनालाई पक्राउ गरी कोहलपुर ल्याएको डिएसपी खनालले बताइन्।
कुशलको हत्या घटनामा सौतेलो बुवा निकनाथ योगीको संलग्नता भने नदेखिएको पनि उनले बताइन्।
‘योगीको संलग्नता कतै पनि खुल्दैन,’ डिएसपी खनालले भनिन्, ‘उनी निर्दोष रहेपनि घर-परिवारको आशंका र किटानी जाहेरीका कारण अहिलै छोड्न मिल्दैन। पछि सरकारी वकिल कार्यालयमार्फत् उनीबारे निर्णय हुनेछ।'
कुशलको हत्या घटनामा आमा यशोदाको भूमिका भने शंकास्पद देखिन्छ।
‘कुशलको हत्या गर्ने योजना, आफूलाई हत्या गर्ने दिएको धम्कीबारे यशोदाले थाहा छैन भन्न सकेकी छैनन्। उनको भूमिका शंकास्पद छ,’ उनले भनिन्।
यशोदाको भूमिकाबारे मुख्य आरोपी पक्राउ पछि थप अनुसन्धान हुने प्रहरी बताउँछ।
परपुरूषसँगको सम्बन्धकै कारणले कुशलको हत्या भएको प्रहरीको निष्कर्ष छ।
‘विवाह पछिको पर-पुरूष सँगको सम्बन्धमा उत्पन्न खटपट पछि बदलाको भावले निर्दोष बालकलाई निशाना बनाएको देखिन्छ,’ उनले भनिन्।