हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा यही जेठ १ र २ गते लेदोसहितको पहिरो जाँदा १८ घरधुरी जोखिममा परेका छन्।
सो गाउँमा ५० घरधुरी छन्। तीमध्ये १८ घरधुरी जोखिममा रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
ती घरका २१ जना महिला, ९ जना पुरूष र दुई जना बालक गरी ३२ जना उच्च जोखिममा रहेको खुलेको छ। उनीहरू अहिले गाउँभन्दा पारि खुला चौरमा त्रिपाल लगाएर बसोबास गरिरहेको डिएसपी थापाले बताए।
'जेठ १ गते मध्यराति साढे ११ बजेदेखि बिहान ५ बजेसम्म लेदोसहितको पहिरो आएको थियो,' उनले भने।
गाउँको उत्तरपट्टीबाट पहिरो आएर घर भत्काएको र मानवीय तथा पशुचौपाया क्षति नभएको खबर प्रहरीले पाएको थियो।
जेठ २ गते बिहान ९ बजेतिर सशस्त्र प्रहरी बल नेपाल बिओपी हिल्सामा खबर भएपछि सात जनाको टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय हिल्साबाट पनि ६ जना प्रहरीको टोली खटिएको थियो।
डिएसपी थापाका अनुसार गाउँभन्दा माथि १४/१५ किलोमिटर माथिको ताल फुटेको आशंका छ। सशस्त्र प्रहरी बलको टोलीले त्यहाँको क्षति विवरण संकलन गरेको छ।
पहिरोले नाम्खा–६ तिल्चुङ खोलाका पाँच वटा काठका पुल बाटो सहित बगाएको छ। सोनाम साङमु लामाको घरमा माथिबाट ढुंगा खसेर छतमा प्वाल परेको छ। त्यस्तै छे बुटी लामाको घर चर्किएर उच्च जोखिम रहेको र धर्मशालाको छतमा ढुंगा खसेर छत नै फोडिएको सशस्त्र प्रहरीले जनाएको छ।
१५ किलोवाटको जलविद्युत भवन, कुलोसहित जलविद्युतको मेसिनमा पनि भौतिक क्षति पुगेको छ।
करिब ४० रोपनी बारीमा सिँचाइ गर्ने कुलो र खानेपानी समेत बगाएको छ।