रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ।
बिहीबार बिहान पौने ११ बजे खाँडादेवी गाउँपालिका-३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।
दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेको हो।
उक्त गाडीमा चार जना सवार थिए। जसमध्ये तीन जना घाइते भएको डिएसपी भट्टले बताए। एम्बुलेन्स र शव सडकमै राखिएको छ।
घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स चालक रामेछाप दोरम्वाशैलुङ्ग-३ बस्ने २४ वर्षीय सुरेश मगर, रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका-२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते छन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।