अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको छ।
जेठ ७ गतेदेखि तीन दिनसम्म अख्तियारमा हाजिर हुँदै आएका भट्टराईलाई अब १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको अख्तियार स्रोतले बतायो।
भट्टराईको मोबाइल फोन परीक्षण गर्न अख्तियारले प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। त्यसको रिपोर्ट नआइसकेको हुँदा अख्तियारले उनलाई १० दिनपछि मात्रै हाजिर हुन भनेको हो।
‘नियमित रूपमा गर्नुपर्ने अनुसन्धानका कामहरू भइरहेकै छन्। रिपोर्ट आएपछि उपस्थित हुने भनेर १० दिनपछि आउनलाई भनिएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तीन दिन नियमित हाजिर भएका थिए।’
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिचौलियासँगको सेटिङमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने गरेको उजुरी परेपछि जेठ ७ गते अख्तियारले छापा मारेको थियो। अख्तियारले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पनि त्यही दिन नियन्त्रणमा लिएको थियो। गृह मन्त्रालयले भट्टराईलाई अघिल्लो दिन नै तानेको थियो।
त्यसदिन अख्तियारले भट्टराईलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो।
स्रोतका अनुसार उनलाई त्यसदिन सामान्य सोधपुछ गरिएको थियो।
‘सुरूमा उहाँसँग सामान्य सोधपुछ गरिएको हो। उहाँको मानसिक अवस्था के-कस्तो छ भन्ने लगायतका विषयमा सोधपुछ भएको हो,’ स्रोतले भन्यो।
यस्तै अख्तियारले ट्राभल एजेन्सी/ म्यानपावर एजेन्सीका केही व्यक्तिहरूमाथि पनि अनुसन्धानको घेरामा राखेको छ। एजेन्सीसँग सम्बन्धित व्यक्तिहरूको मोबाइल पनि प्रयोगशालामा पठाएको छ।
अख्तियारले छापा मारेपछि गृह मन्त्रालयले अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरेको छ। पछिल्लो समय गृहमन्त्री रमेश लेखकसमेत विवादमा तानिएका छन्।