ललितपुरको हरिसिद्धीमा बालिकालाई ‘हिट एन्ड रन’ (ठक्कर दिएर नरोकी भाग्ने काम) गरेका मन्त्री र उनका चालकलाई कारबाही नगरेको भन्दै आलोचना भइरहेको छ।
शनिबार बिहान ७ बजेतिर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदै थिए।
त्यहाँ जाने क्रममा प्रहरी प्रभाग हरिसिद्धीबाट करिब एक किलोमिटर पर बाटो काट्ने क्रममा रहेकी ११ वर्षीया उषा सुनुवार मगरलाई मन्त्री चढेको को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दियो। उषा जेब्रा क्रसिङबाट बाटो काट्दै थिइन्।
यसरी ठक्कर दिएपछि मन्त्रीको गाडी रोकिएन। चालकले हुँइक्याए। यसरी भाग्नुलाई ‘हिट एन्ड रन’ भनिन्छ।
सडकमा हिँडिरहेको पैदल यात्रीलाई भुलवस् ठक्कर दिएको खण्डमा गाडी तत्काल रोक्नु र आवश्यक परे उसलाई उपचारका लागि अस्पताल पुर्याउनु चालकको आधारभूत जिम्मेवारी र कर्तव्य हो।
त्यसमाथि गाडीमा मन्त्रीनै सवार भएपछि उनले आफ्ना चालकलाई गाडी रोक्न लगाउनै पर्थ्यो तर मन्त्रीको गाडी रोकिएन। मन्त्रीले गाडी किन रोक्न लगाएनन् त्यसबारे हामीले मन्त्रीलाई सोधेका छौं। उनको भनाइ पनि यो स्टोरीमा सामेल छ।
यसरी दुर्घटनापछि गाडी नरोकि लैजानुलाई धेरै मुलुकमा गम्भीर फौजदारी अभियोग मानिन्छ, त्यहाँका कानुनले त्यही भन्छन्। र नरोकी गाडी लैजादा यात्रुलाई गरेको क्षतिअनुसार चालकलाई जेल सजाय हुन्छ।
नेपालमा भने कानुनले ‘हिट एन्ड रन’लाई छुट्टै रूपमा नलिएको र सजाय गर्ने छुट्टै व्यवस्था नरहेको प्रहरीका अधिकारीहरू बताउँछन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अवकाशमा गएका पूर्वएसएसपी जीवनकुमार श्रेष्ठले ‘हिट एन्ड रन’ को घटनालाई कानुनी रूपमा स्पष्ट किटान नगरेको बताए।
‘हाम्रोमा हिट एन्ड रन’लाई स्पष्ट रूपमा कानुनले किटान गरेको छैन। अहिले केन्द्रबाहेक प्रदेशहरूले पनि सवारी ऐन बनाएका छन्। तर हिट एन्ड रन भनेर सिधै भनेको अवस्था छैन। मृत्यु भएको र अंगभंग भएको अवस्थामा मात्रै सजायको व्यवस्था गरिएको छ,’ उनले भने, ‘त्यसबाहेक क्षतिपूर्ति र ट्राफिक नियम उल्लंघनको कसुरमा जरिवाना हुने हो। समय अनुसार ऐनलाई पनि परिस्कृत गर्दै लग्नुपर्ने हो।’
तर प्रहरी-ट्राफिक प्रहरीले ‘हिट एन्ड रन’लाई गम्भिर रूपमा हेर्ने गरेको उनले बताए। दुर्घटनापछि भागेका व्यक्तिहरूलाई ट्राफिक प्रहरीले बिमाका लागि सिफारिस गर्दैन।
‘त्यसरी भाग्नेहरूले चालक परिवर्तन, मापसे, लागु औषधसमेत सेवन गरेको अवस्था हुनसक्छ,’ उनले भने, ‘२४ घन्टासम्म पनि सम्पर्कमा नआउनेहरूको हकमा ती तीन कुरा गरेको हुनसक्ने आधारलाई मानेर बिमा सिफारिसका लागि दिँदैन। यो प्रहरीभित्र सर्कुलर नै भएको विषय हो।’
श्रेष्ठले ‘हिट एन्ड रन’लाई पनि सम्बोधन हुनेगरी कानुन संशोधन गनुपर्ने बताए।
प्रहरीका अनुसार बालिकालाई शनिबार ठक्कर दिएको गाडी गोदावरीमा जारी एमालेको विधान महाविधेशनको हलमा पुगेर मात्र रोकिएको थियो। जुन अन्दाजी सात किलोमिटर परसमेत छ।
मन्त्री कार्यक्रम स्थलमा पुगेपछि भने उनका पिएसओले प्रहरीलाई सम्पर्क गरेर दुर्घटनाबारे जानकारी गरएका थिए। त्यसपछि प्रहरी प्रभाग बाडेगाउँले गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।
ललितपुरका एसपी चक्रराज जोशीले पनि गाडी दुर्घटनापछि कार्यक्रम स्थलसम्मै पुगेको पुष्टि गरे। ‘मन्त्रीजी कार्यक्रम स्थलमा पुगिसकेका थिए, पछि नियन्त्रणमा लिइयो,’ उनले भने।
यो दुर्घटनापछि मन्त्री भागेको घटनाले स्थानीयबासी समेत आक्रोशित बनेका थिए। स्थानीयले सडक नै अवरूद्ध गरेका थिए।
सेतोपाटीले ललितपुर प्रहरीका एसपी जोशीसँग ‘हिट एन्ड रन’ गरेको मन्त्रीको गाडीलाई किन त्यही कसुरमा कारबाही नगरेको भनेर सोधेका छौं।
एसपी जोशीले मन्त्री दुर्घटनास्थलबाट नगएको र त्यहाँ गाडी रोकेको भए अप्रिय घटनासमेत हुनसक्ने सम्भावाना रहेको बताए।
‘मन्त्रीको झन्डावाला गाडी थियो। दुर्घटनापछि गाडी रोकेको भए वा मन्त्रीले गाडीमा हालेर घाइतेलाई लगेको भएपछि निस्किन दिन्थ्यो होला त?,’ उनले भने, ‘मन्त्रीको गाडी भएकै कारणले पछि स्थानीयले सडक अवरूद्ध गरे।’
दुर्घटना भएपछि मन्त्रीमाथि नै आक्रमण हुनसक्ने अवस्था रहेको प्रहरीले दावी गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर त्यहाँबाट गएको हुनसक्ने बताए।
‘यसलाई हिट एन्ड रन भन्न मिल्दैन। उहाँहरू पछि आफै सम्पर्कमा आउनुभयो। सुरक्षाको दृष्टिकोणले त्यहाँ नबसेको हुनसक्छ। सार्वजनिक अहोदामा बसेको व्यक्तिको गाडीबाट घटना भएकाले त्यहाँ थप अप्रिय घटना पनि हुनसक्ने हुन्छ,’ उनले भने।
मन्त्री मगरले पनि सुरक्षाकै कारणले आफ्नो गाडी नरोकिएको बताए।
बालिकालाई हानेर किन भाग्नुभएको, त्यही रोक्नपर्छ भन्ने लागेन? यो प्रश्नमा मन्त्रीले भने, ‘मैले मात्र भनेर भएन नि, चालक, सुरक्षाकर्मीहरूले यहाँ गाडी रोक्नु सुरक्षाका दृष्टिले ठिक हुन्न भनेपछि मैले केही गर्ने अवस्था भएन। मैले मात्रै चाहेर नहुने रहेछ।’
प्रहरीहरूले पनि ‘हिट एन्ड रन’को घटनालाई गम्भीर रूपमा लिने कानुन भएका मुलुकहरुमा पनि चालकले घटना पछि प्रहरीलाई आफै जानकारी गराएको अवस्थामा त्यसलाई फौजदारी कसुर नमान्ने बताए।
‘संसारभरिनै घटना पछि कहिलेकाहीँ सुरक्षा संवेदनशीलता हुन्छ। आफूमाथिनै सुरक्षा खतरा छ भने चालक घटना स्थलमा नबस्न सक्छ। तर त्यस्तो अवस्थामा प्रहरीलाई भने बिना अविलम्ब खबर गर्नुपर्छ।’
तर हाम्रो अहिलेको कानुनले पनि दुर्घटना भएपछि चालकको जिम्मेवारी र कर्तव्य के हो भनेर स्पष्ट तोकेको छ।
नेपालमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३३ ले दुर्घटना हुँदा चालकको जिम्मेवारी र कर्तव्य के हो भनेर व्यवस्था गरेको छ।
कुनै दुर्घटना भएपछि चालक, परिचालक, सुरक्षाकर्मी लगायतले मानिसको उपचारको लागि तुरून्तै व्यवस्था गर्नुपर्ने भनिएको छ।
‘कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउ ज्यानमा कुनै किसिमको खतरा वा चोटपटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नुपर्छ, ’ उक्त दफामा भनिएको छ।
दुर्घटना नै भइसकेपछि चालकले प्रहरी नभएमा प्रहरीलाई जानकारी समेत गराउनुपर्ने बताइएको छ।
‘सवारी दुर्घटनाग्रस्त भएको स्थानमा कुनै प्रहरी नभएमा चालकले तुरून्त सो दुर्घटनाको जानकारी तथा विवरण नजिकको प्रहरी कार्यालयलाई दिनुपर्छ। कुनै प्रहरीले दुर्घटनाको सम्बन्धमा सम्बन्धित सवारी चालकसँग कुनै कुराको सोधपुछ गरेमा निजले सोधिएको सबै कुरा बताउनुपर्छ, ’ उक्त दफामा भनिएको छ।
सवारी ऐनले दुर्घटना भई ज्यान गएको वा अंगभंग भएको कसुरसम्मलाई अपराध मानिएको छ।
दफा १६२ मा अंगभंग भएमा पनि सजायलाई वर्गीकरण गरिएको छ।
अंगभंग हुने गरी बदनियतसाथ गरेको भए सवारी चालकलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्छ।
दुर्घटना भएर सामान्य घाइते भएको अवस्थामा क्षतिपूर्तिसम्म भराउने व्यवस्था छ।
दुर्घटना गराएर भागेर सम्पर्क नआउने र लुक्नेको अवस्थामा ट्राफिक प्रहरीले बिमाका लागि सिफारिस नगर्न सक्नेसमेत व्यवस्था रहेको एसपी गिरीले बताए।
भारतमा भने ‘हिट एन्ड रन’लाई कानुनमै उल्लेख गरिएको छ। भारतीय न्याय संहिता, २०२३ को दफा १०६ (२)ले ‘हिट एन्ड रन’मा सजाय तोकेको छ।
हिट एन्ड रनको कानुनले दुर्घटनामा कसैको ज्यान गए प्रहरीलाई खबर नगरी भाग्नेलाई १० वर्षसम्म कैद सजाय र ७ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने उल्लेख छ।
यो कानुनमा दुई प्रकारले वर्गीकरण गरिएको छ।
पहिलोमा लापरबाही पूर्वक दुर्घटनापछि कसैको ज्यान गएमा र खबर गरेमा पाँच वर्षसम्म कैद र जरिवाना भनिएको छ। दोस्रोमा घटनास्थलबाट भाग्नेलाई भने १० वर्षसम्म कैद र जरिवाना हुनसक्ने भनिएको हो।
यो कानुन ल्याउनुपूर्व भारतमा इन्डियन पेनल कोडअन्तर्गत दुई वर्षसम्मका लागि मात्रै कैद सजाय तोकिएको थियो।