पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताएका छन्।
आन्तरिक पर्यटकहरू पनि जेनजी आन्दोलनको त्रासका कारण पहिलाको तुलनामा बाहिर ननिस्किएको उनको भनाइ छ।
बाह्य पर्यटकहरू नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको उनले बताए।
पर्यटन क्षेत्र जेनजी आन्दोलनसँगै सुस्ताएको उनको भनाइ छ।
उनकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरू सय भन्दा बढी हुने गरे पनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरूले काम पाएका छैनन्।
उनले यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउनुपर्ने कुरामा यातायात व्यवसायीहरू सचेत रहेको बताए।
चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारी साधन चलाइरहेको उनले बताए।
उनले काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरूसँग आग्रह गरे।
उनले भने, ‘हामीसँग हुने भनेको आन्तरिक पर्यटन मात्रै हो। बाह्य पर्यटकको तथ्यांक पर्यटन बोर्डले नै राख्छ। हामीकहाँ आउने कुरामा धेरै पर्यटकहरू आन्तरिक पर्यटक आइरहँदा दिनमा लगभग हाम्रा गाडीहरूले नेपालभरबाट सय जना जति पर्यटकहरू भित्र्याउँछन्। जेनजीको आन्दोलनपछि भन्दा यसलाई न्यून भएको अवस्था छ। देशको स्थिति छ, के हुन्छ भन्ने कुरा थाहा छैन। बाटोहरूमा प्रहरीहरू देखिएका छैनन्। आन्दोलनका कारण उनीहरू तहसनहस भएका छन्। पहिलाको जस्तै ठाउँमा सुरक्षा छैन।’
अध्यक्ष साईले यात्रुहरूसँग विगतकै भाडादरमा भाडा लिइरहेको उनले बताए।
यात्रुहरूसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने उनले चेतावनी दिए। —न्युज एजेन्सी नेपाल