गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशको मध्य र पूर्वी भूभागमा वर्षा गराएको प्रणाली नेपालबाट बाहिरिइसकेको छ।
बंगालको खाडी हुँदै आएको न्यूनचापीय (पानी पार्ने) प्रणाली आइतबार अपराह्नबाटै नेपालबाट बाहिरिइसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले भारतका केही स्थानमा पश्चिमी वायु सक्रिय रहेको बताएको छ। भूमध्य सागर हुँदै आउने पश्चिमी न्यून चापीय प्रणालीले भारतका केही स्थानमा राम्रै वर्षा गराउने देखिएको छ। त्यसो त नेपालमा मनसुन यामबाहेक सबै महिना पश्चिमी वायुकै प्रभाव रहन्छ।
अहिले आइरहेको पश्चिमी प्रणालीले नेपालको पश्चिमी भूभागमा समेत वर्षा गराउने सम्भावना देखिएको मौसमविद् विनोद पोखरेलले बताए। उनले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी तीन दिनसम्म रहने दाबी गरेका छन्। विभिन्न मोडलमार्फत् बदली, वर्षाको पूर्वानुमान गर्ने पोखरेल त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापकसमेत हुुन्।
‘पश्चिमी वायुको प्रभाव तीन दिनसम्म रहने हुँदा पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ। अन्य ठाउँमा पनि हल्का वर्षाको सम्भावना तीन दिनसम्म देखिन्छ,’ उनले भनेका छन्।
हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरलाई भारतका केही स्थानमा देखिएको उक्त प्रणालीले नेपालमा वर्षा गराउने कत्तिको सम्भावना छ भनेर सोध्यौं। उनले त्यो प्रणालीले नेपालमा उल्लेख्य वर्षा गराउने सम्भावना न्यून रहेको बताइन्।
‘नेपालको मौसम प्रणालीमा मनसुनी वायुकै प्रभाव छ। सुदूरपश्चिमबाट बाहिरिन सुरू गर्ने मनसुनी वायु अहिले नेपालमा कायम रहेकाले यसबीचमा हुने वर्षा मनसुनी वायुकै प्रभावले भन्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘मनसुनी वायुको प्रभाव रहेकै बेला पश्चिमै वायु त्यति सक्रिय हुन सक्दैन। त्यसैले भारतका केही स्थानमा देखिएको पश्चिम न्यूनचापीय प्रणालीको असर नेपालमा खासै पर्दैन,’ उनले भनिन्।
साधारणतया नेपालबाट अक्टोबर २ अर्थात् असोज १६ आसपास मनसुन बाहिरिने गरेकामा यस वर्ष ढिला गरी मनसुन बाहिरिने भएको छ। यसवर्ष सरदरभन्दा १५ दिन छिटो मनसुन नेपाल भित्रिएको थियो।
‘मनसुन आगामी केही दिनसम्म अझै रहने देखिएको छ। हामी नियमित बुलेटिनमार्फत् अद्यावधिक गर्नेछौं,’ उनले भनिन्।