जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर ८ जना कैदीबन्दीहरू भागेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयबाट एकजना र राष्ट्रिय अनुसन्धान विभागबाट थप एक जना सदस्य रहेका छन्।
डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार छानबिन समितिलाई घटनाको अनुसन्धान गरी सक्दो चाँडो प्रतिवेदन पेश गर्न भनिएको छ।
‘तर, यत्ति नै समय भनेर तोकिएको छैन,’ डिएसपी गिरीले भने ।
प्रजिअ ढकालले भने छानबिन समितिलाई सकभर आइतरबार रातिसम्म वा सोमबार बिहानसम्म प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताइन्।
साथै उनले कारागारको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी तथा कारागार प्रशासनको जिम्मेवारीमा रहेका व्यक्तिहरू माथि पनि अनुसन्धान हुने बताइन्।
उनीहरूमाथिको कारबाही प्रक्रिया छानबिन समितिको प्रतिवेदनपछि हुने प्रजिअ ढकालले जानकारी दिइन्।
‘हामीले सिसीटिभी फुटेजहरू पनि लिइसकेका छौं,’ उनले भनिन् ‘ फुटेज अहिले अनुसन्धान क्रममा छ ।’
प्रजिअ ढकालका अनुसार सिसीटिभी फुटेजको प्रारम्भिक विश्लेषण गर्दा राति १० बजेसम्म ती कैदीबन्दीहरूको क्रियाकलाप सामान्य देखिएको छ।
कात्तिक १२ गतेदेखि मौसममा परिवर्तन आउनु,पानी पर्न थाल्नु र जिल्ला कारागारको क्षेत्र पनि ठूलो भएको हुँदा ती सबै कुराहरूको फाइदा उठाउँदै उनीहरूले सुरूङ खनेर भाग्न सफल भएको देखिएको उनले बताइन्।
‘किचनमा प्रयोग हुने साना औजारहरू प्रयोग गरी सुरूङ खनेको देखिएको छ,’ उनले भनिन् ‘ कम्तिमा उनीहरूले त्यो सुरूङ खन्ने काम चार घन्टा भित्रै सकेको अनुमान छ।’
कारागार प्रशासनको सबै भन्दा ठूलो कमजोरी अण्डरग्राउन्डमा प्रयोग बिहिन सेप्टिक ट्यांकी छ भन्ने कुराको हेक्का नराख्नु र कैदी बन्दीले आफू सुत्ने कोठाबाट सेप्टिक ट्यांकीसम्म करिब २ फिट र त्यसको पारिपट्टिको अर्को त्यस्तै २ फिटको सुरूङ खनेर उनीहरू भागेको देखिएको उनले बताइन ।
उनले भनिन्, ‘सेप्टिक ट्यांकीको खाली भागको गणना नगर्ने हो भने दुई ठाउँमा गरी उनीहरूले करिब चार/पाँच फिटको सुरूङ खनेको देखिएको छ।’
भागेका कैदीबन्दी मध्ये २ जना नयाँ हुन्। उनीहरू चोरी मुद्दामा कारागार चलान भएका थिए। तीबाहेकका ६ जना पुराना हुन्।
‘कारागार प्रशासनका अनुसार पुराना छ जनाहरूको गतिविधि राम्रै थियो भन्ने खुलेको छ,’ प्रजिअ ढकालले भनिन्, ‘पछि आएका दुई जना कैदीहरूका कारण यो सबै योजना बनेको भन्ने खुलेको छ।’
नयाँ भनिएका दुई कैदी रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी हुन्।
उनीहरू करिब ३ महिनाअघि पक्राउ परेका थिए। चोरी मुद्दाको अन्तिम फैसला नहुँदासम्मका लागि जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
घर फोडेर चोरी गर्दै आएका तिलक र आदेशले नै भाग्ने योजना बुनेको र उनीहरूले सुरूङ खन्नका लागि साना रड र चुलेसीजस्ता वस्तुहरू किचेनबाट संकलन गरेका थिए।
उनीहरूसँगै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालटबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेका रूकुम पश्चिमकै आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय र वडा नम्बर ४ का २८ वर्षीय हरिबहादुर बुढा सुरूङबाट भागेका हुन्।
चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार पनि उनीहरूसँगै भागेका थिए।
प्रहरीले के गरिरहेको छ?
डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार भागेका कैदी बन्दीको खोजीको लागि जिल्लाका करिब डेढ सय जति सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।
कर्णाली प्रदेश प्रहरीका साथै आसपासका सबै जिल्लाहरू भागेका कैदी बन्दीको पूर्ण विवरणसहित खोज तलासका लागि अलर्ट छन्।
‘हामी भागेका कैदी बन्दीको खोज तलास र पुनः पक्राउ गर्नमै केन्द्रित छौं,’ डिएसपी गिरीले भने।