त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को आयोजनामा स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षा विषयक तीनदिने कार्यशाला आयोजना गरिएको छ।
कात्तिक १४ देखि १६ गतेसम्म हुने कार्यशालामा देशभरका २६ मेडिकल कलेज तथा अस्पतालका ६४ जना सहभागी छन्। भारतको भेलोर र बंगलादेशबाट आएका विषयविज्ञहरूले पनि कार्यशालामा आफ्नो ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यास आदानप्रदान गरिरहेका छन्।
नेपालको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, बिरामीको सुरक्षा सुनिश्चित तथा उपचारका क्रममा हुन सक्ने त्रुटि र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको अस्पतालले जनाएको छ।
नेपालमा अस्पताल, शय्या, उपकरण तथा स्वास्थ्य संस्थाको संख्यात्मक विस्तारमा जोड दिइरहँदा सेवाको गुणस्तर र बिरामी सुरक्षालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।अस्पतालको संख्या बढाउनु मात्र पर्याप्त नहुने भन्दै प्रत्येक बिरामीले सुरक्षित, प्रभावकारी, सम्मानजनक र गुणस्तरीय सेवा पाउनुपर्नेबारे छलफल भएको त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोसार्यले जानकारी दिए।
कार्यशालाको संस्थागत पहल टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुभाष प्रसाद आचार्यले गरेका हुन्। अस्पतालका सहायक निर्देशक एवं गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइका प्रमुख प्रा. डा. पवनराज चालिसेको नेतृत्व र समन्वयमा कार्यशाला आयोजना भएको हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रीका सल्लाहकार प्रा. डा. मनोहर प्रधान, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. कृष्णप्रसाद पौडेल र वरिष्ठ
चिकित्सक प्रा. डा. भगवान कोइरालाले स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा संस्थागत जवाफदेहिताबारे धारणा राखेका थिए।