कागबेनीको 'ह्याप्पी आवर' होटलमा पुग्दा केट्यौले छिरिङ बेलुकाको खाना पकाउन हस्याङस्याङ गरिरहेका थिए।
मुस्ताङको यात्रामा यसपालि कागबेनीको मुखैमा रहेको छिरिङको होटल हाम्रो छनोटमा परेको थियो।
काठमाडौंमा जाडो मत्थर हुँदै गए पनि मुस्ताङमा तल लेतेसम्मै हिउँ नपग्लिएकाले बिहान–बेलुका कठ्यांग्रिने चिसो थियो। त्यसैले होटल छिरेलगत्तै छिरिङलाई तात्तातो झोल, खानेकुराको अर्डर गरियो।
चुनावको सँघारैमा यसपालि मुस्ताङसम्मको यात्रा काम विशेषले तय भएको थियो। पर्यटकीय स्थल मुस्ताङ घुमफिरको उद्देश्य उच्च हिमाली भेगमा फल्ने रैथाने बालीबारे वृत्तचित्र निर्माण गर्नु थियो।
जोमसोम उँभो लागेपछि नै उवा, फापर, जौ इत्यादिबारे गाउँ–गाउँमा किसानसँग भेटघाट गर्ने कार्यतालिका बनाएर काठमाडौंबाट उपल्लो मुस्ताङसम्म तीन सदस्यीय टोली हप्ता–दस दिनको यात्रामा जुटेका थियौं— क्यामरा प्राविधिक हरिस महरा र पर्यावरण संरक्षणकर्मी गौतम पौड्यालसहित।
सबेरै काठमाडौंबाट हिँडेको गाडी नागढुंगा कटेपछि विगतमा जस्तो नौबिसेसम्म जाम खेप्नुपरेन। मुग्लिङ—पोखरा, पोखरा—बेनी र बेनी—मुस्ताङसम्मको बाटो अहिले कालोपत्रे भइसकेकाले सरासर गए एकै दिनमा आरामले मुक्तिनाथ नै पुग्न सकिने भएछ।
हामी भने पहिलो दिन म्याग्दी तातोपानीको बसाइँपछि दोस्रो दिन छिरिङको पाहुना बन्दै थियौं।
हिमालपारिको जिल्ला मुस्ताङमा त्यसै पनि हिउँदमा बढी झर्ने अर्थात् मुस्ताङबाट जाडो छल्न पोखरा वा काठमाडौं आउने चलन छ। यसपालि हामी पनि जाडो छल्न मुस्ताङीले गाउँ छाडेका बेला पर्यौं। त्यसैले पनि छिरिङलाई होटलमा भ्याइनभ्याइ थियो।
मुक्तिनाथबाट झर्दा मुखैको होटल प्रायः तीर्थयात्रीको पनि रोजाइ हुने भएकाले फाट्टफुट्ट तीर्थयात्रीहरू पनि छिरिङको होटलमा आइरहेकै थिए।
खाना खाएर चिसोबाट बच्न ब्ल्यांकेटभित्र छिरिहाल्ने हतार एकातिर थियो भने खाना तयार हुनुअघि छिरिङसँग दुई–चार वाक्य गफगाफ पनि हाम्रो चासोको विषय थियो।
त्यसमाथि हाम्रा सहयात्री, पर्यावरण संरक्षणकर्मी गौतम पौड्याल, चुनावी सरगर्मीबारे काठमाडौंबाट सयर भएदेखि नै चिन्ता–चासो राखिरहनेमा पर्नुहुन्थ्यो।
छिरिङलाई खानपिनको अर्डर गरेपछि गौतम सरले सोधिहाल्नु भयो, 'अनि छिरिङ, चुनाव कत्तिको लागेको छ त?'
पहिलो पटक भेट्दै गरेकाले स्वाभाविक हो, छिरिङ हामीसँग खुल्ने कुरै भएन।
'खै सर, हामी होटल गर्नेलाई के थाहा हुन्छ र,' ओल्लो कोठा डाइनिङमा भएका हामीलाई छिरिङले भान्साबाटै जबाफ फर्काए।
मुस्ताङ हिमालपारिको जिल्ला भए पनि देशैभर भइरहेको चुनावी सरगमीबारे छिरिङ बेखबर त थिएनन्। त्यसमाथि कागबेनीको मुखैमा भएको होटलमा देश–विदेशबाट पुग्ने दर्जनौं पर्यटकको आवागमनले उनलाई विद्यमान अवस्थाबारे अद्यावधिक राखेकै थियो।
कुराकानीका क्रममा गौतम सर मोबाइलमा सामाजिक सञ्जाल पनि चलाइरहनुभएको थियो।
सञ्जालमा आएको समाचार हेर्दै गौतम सरले फेरि छिरिङलाई सोध्नुभयो, '...अनि छिरिङ, देशैभर हावाहुरीको माहोल छ? मुस्ताङमा चाहिँ हावाहुरीको अवस्था के छ?'

छिरिङले नबुझेर हो वा हामीले डाइनिङबाट जिस्काएको बुझेर हो, उनले फेरि पनि अनभिज्ञता देखाए।
हामीले छिरिङसँग कुरा गरूञ्जेल होटलमा केही पाहुना आउने क्रम चलिरहेको थियो। ती पाहुनाको बन्दोबस्तमा पनि छिरिङ दौडधुप गरिरहेका थिए।
गौतम पौड्यालसँग विगत ३० वर्षअघिदेखि एक्याप, डब्लुडब्लुएफ लगायत संस्थासँग पर्यावरणसँग सम्बद्ध भएर गाउँ गाउँ डुल्ने विभिन्न विषयमा स्थानीयसँग साक्षात्कार गर्ने बानी परेकाले पनि छिरिङलाई बोलाइरहन उहाँलाई अप्ठ्यारो लागिरहेको थिएन।
होटल सञ्चालन तथा घरपरिवार इत्यादिबारे मिजासिलो तरिकाले छिरिङलाई सोधिरहेकाले उनी पनि रिसाउने कुरा थिएन।
तर गौतम सरलाई जान्नु थियो, यसपालि चुनावमा कुन पार्टीको पल्ला भारी हुँदैछ भनेर। अर्थात् नयाँ आएका पार्टीको अवस्थाबारे विशेष जिज्ञासा थियो।
बेलाबेला सोधिरहेपछि गौतम सरले सोधेको हावाहुरीको जबाफ छिरिङले भान्साबाटै दिए, 'सर, यसपालि मुस्ताङमा घन्टी (रास्वपा) को माहोल छ, हामी त घन्टी हो।'
गौतम सरले सोधिहाल्नुभयो, 'किन त बाबु, नयाँ पार्टी त अनेक छन्, घन्टी नै किन? जानेरै छानेको कि हावाहुरीकै पछि लागेको?'
'पुरानाले केही गरेनन् सर, अब नयाँलाई जिताउने हो,' स्थानीय लवजमा छिरिङ ढुक्कसँग बोले।
गौतम सरलाई देशमा भइरहेको परिवर्तन स्वाभाविक भए पनि जुन तरिकाले अहिले चुनाव हुँदैछ, यसप्रति उहाँको चासो रहेको मैले पनि कुराकानीका क्रममा थाहा पाएको थिएँ।
छिरिङ हाम्रा लागि एउटा प्रतिनिधि पात्र थिए।
राजधानी छाडेर टाढा पुग्दै गर्दा हामीले बाटैमा, बेनीमा केहीबेर रोकिँदा पनि मोबाइल पसलका साहुजीलाई यसपालि म्याग्दीमा कसको पल्ला भारी छ भनी सोधेका थियौं। उनले उल्टै हामीलाई प्रश्न गर्दै खुल्न चाहेनन्। तर बेनीमा अधिकांशले महावीर पुनलाई जिताउनुपर्छ भनेको पाएका थियौं।
अर्थात् पुरानो पार्टीबारे सडकमा भेटिने मान्छे खासै कुरा गर्न चाहिरहेका थिएनन्।
बेनीबाट उँभो लागेपछि गौतम सर र मैले चुनावी जोडघटाउबारे केही कुरा गरेका थियौं — पुरानो पार्टीको औचित्य सबै सकिएको हो त भन्ने दृष्टिकोणबाट।
छिरिङले बिस्तारै फापरको ढिँडो, मुस्ताङी सिमीको झोल र तरकारी हाम्रो टेबलमा ल्याए।
उनलाई अगाडि देखेपछि गौतम सर विस्मित मान्दै फेरि बोल्नुभयो, 'बाबु, तिमीलाई मुस्ताङमा लाग्ने हावाभन्दा पनि बढी देशको हावा लागेछ।'
छिरिङ फेरि स्पष्ट हुँदै बोले, 'होइन सर, नयाँ पार्टीलाई अब पाँच वर्ष सरकार चलाउन दिने हो।'
ढिँडो खाँदै गौतम सर कुरा गर्न अघि सर्नुभयो, 'अनि बाबु, आँखा चिम्लेर भोट हाल्दा पाँच वर्षपछि देशमा चुनावै नहुने अवस्था कुनै पार्टीले ल्यायो भने तिमी के गर्छौ?'
छिरिङ असमञ्जसमा पर्दै प्रश्न गरे, 'त्यो भनेको के सर?'
'गौतम सरले अब मतदाता शिक्षाको कक्षा चलाउनु हुने भयो,' नबोली छेउमा ढिँडो खाइरहेका हरिस महरा बल्ल बोले।
'निर्वाचन भनेको भाइरलको पछि लाग्ने समय होइन छिरिङ, हावाहुरीको पछि किन लाग्छौ,' गौतम सरले भन्नुभयो, 'नयाँ भनेको त अरू पार्टी पनि छन् त। कुलमान घिसिङ, हर्क साम्पाङ। उनीहरू त झन् यसैपालि चुनावमा आउँदैछन्। फेरि कांग्रेसमा पनि युवाको नयाँ नेतृत्व छ।'
कांग्रेसको कुरा सुनेपछि छिरिङले अलि रिसाएझैं भने, 'यत्रो वर्ष शासन गर्ने कांग्रेसले देशमा खै के गर्यो? अनि कांग्रेस, एमाले नै होइनन् यो परिणाम ल्याउने?'
हिमालपारिको जिल्ला मुस्ताङीहरूलाई के थाहा होला भन्ने कसैले सोच्छ भने, त्यो गलत हुन सक्छ भन्ने प्रमाण छिरिङ थिए।
सुरूमा गौतम सरले हावाहुरीको कुरा गर्दा वास्ता नगरेका छिरिङले पुराना दलप्रति असन्तुष्टि ओकेले।
ढिँडो सकेर हिड्ने बेलामा छिरिङ फेरि बोले, 'देशमा अबको आशा भनेको बालेन (शाह) हो सर।'
३२ वर्ष उमेरका छिरिङसँग गौतम सरलाई अझै केहीबेर गफिन मन भयो।
म र हरिस भने कोठातिर लाग्यौं।
आधा घन्टापछि गौतम सर कोठामा छिर्दै भन्नुभयो, 'छिरिङसँग सकिनँ मैले। भोट त नयाँ (रास्वपा) लाई नै ठोक्छु भन्छ। हरेक मान्छे किन यसरी भाइरल भइरहेका छन्?'
भोलिपल्ट बिहानै निलगिरि हिमाल र धौलागिरि टाकुरामा सबेरै घामको झुल्को पर्दा छिरिङ भान्सामा छिरिसकेका रहेछन्।
'हेलो छिरिङ, गुडमर्निङ,' भन्दै मैले सोधेँ, 'हिजो त अबेरसम्मै दह्रो गफगाफ भएछ त?'
तातोपानी गिलासमा सार्दै छिरिङले होटलमा हुने कहानी सुरू गरे। खासमा होटलमा अनेक पाहुना आउँदा, पाहुनैपिच्छे विभिन्न पार्टीका कार्यकर्ता आउने हुँदा प्रायः पाहुना 'घन्टी' भन्दै हिँड्दा रहेछन्।
'भाइ कुन पार्टी?' भनेर कसैले सोधे 'घन्टी हो, घन्टी' भनिदिए, बुढीऔंलाले 'लाइक' गर्दै पाहुना हिँड्दा रहेछन्।
मुस्ताङमा अघिल्लो चुनावका विजयी कांग्रेसी उम्मेदवार योगेश गौचन थकालीको पनि यसपालि माहोल बनिरहेकामा उनी पनि बेखबर छैनन्। तर सामाजिक सञ्जालमा आएको भाइरलको बाढीको परिणाम आफूले गौतम सरलाई सुनाएको छिरिङले बताए।
छिरिङको पार्टी त मैले सोधिनँ, तर कागबेनी पारिको गाउँ फल्याकले अघिल्लो चुनावमा कांग्रेसलाई जिताएको थियो। छिरिङका अनुसार यसपालि पनि माहोल उस्तै छ।
तातोपानी खाँदै गर्दा छिरिङले मलाई पनि सोधे, 'सर, सबै मान्छे घन्टी, घन्टी भन्छन्, यो पार्टीले देश बनाउला त?'
जबाफमा म हासेँ मात्र।
बिहानको ब्रेकफास्टै नगरी हामी उँभो उपल्लो मुस्ताङको चराङ गन्तव्य बनाएर गाडीमा हुइँकियौं। मनभरि छिरिङ हामी सबैको मानसपटलमा बसिरहे।
चराङ उकालो लाग्दै गर्दा वरपरका सबै पहाड हिउँले सेताम्मे थिए। त्यो चिसोमा हामीलाई भने चुनावी सरगर्मीले तताएको थियो। बेला बेला गौतम सरलाई मान्छे भाइरल बनिरहेकोमा चिन्ता लागिरहेकै थियो।
म एकोहोरो गाडी चलाइरहेको थिएँ, उहाँले प्रसंग सुरू गर्नुभयो, 'छिरिङको गाउँ नै कांग्रेस हो नि शंकरजी।'
'छिरिङलाई पनि सबैले अप्ठ्यारोमा पार्दा रहेछन्, ऊ आफै रनभुल्ल छ,' मैले बिहान छिरिङसँग संवाद गरेको कुरा गौतम सरलाई थाहै नदिई भनेँ, 'भाइरल ज्वरोले जसरी हरेकलाई संक्रमित बनाउँछ, छिरिङ ठ्याक्कै भाइरलको संक्रमणमा छ।'

रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले काम नगर्ने ठेकेदारलाई घोक्रेठ्याक लगाउनुपर्छ भनेको सन्दर्भ कोट्याउँदै फोटो–भिडियो खिचिरहेका हरिसले सोधे, 'बालेनलाई प्रधानमन्त्री बनाउनुअघि काठमाडौंको मेयर भएर गरेको कामको समीक्षा गर्नुपर्दैन?'
हरिस बोलिरहँदा गाडी घिलिङबाट उकालो लाग्दै थियो।
'समाजले नेतृत्व होइन, नायक खोजिरहेको छ,' गौतम सरले भन्नुभयो, 'नायकलाई जिताउँदा पाँच वर्षपछि के होला?'
मैले व्यक्तिलाई शक्तिले निरंकुश बनाएको प्रसंग निकालेँ — २०७४ सालको चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई काम गर्न बहुमतको सरकार थियो। अनि त्यही बहुमतले मैमत्त ओलीले दुई–दुई पटक संसद भंग गरेका थिए।
सुदूरपश्चिम बैतडी घर भएका हरिसले थपे, 'यसपालि देउवा (कांग्रेसका पूर्वसभापति शेरबहादुर) लाई पाखा लगाएपछि मैले चिनेकै मान्छे घन्टी भएको छ गाउँमा।'
हरिसले 'देउवा गाउँ' को कुरा सुनाएपछि गौतम सरले भन्नुभयो, 'हावाहुरीको भोटले जितेको पार्टीलाई भोलि कसैप्रति जबाफदेही हुनुपर्ला त?'
गौतम सरको कुरा सुनेपछि हरिसले सोधे, 'होइन तपाईं कांग्रेसी हो कि क्या हो?'
यति कुरा गरूञ्जेल गाडी चराङ, हाम्रो गन्तव्य पुग्यो। हामी स्थानीय एउटा होटल छिर्यौं।
मुस्ताङ घुम्न जाने नेपाली, अझ उपल्लो मुस्ताङ चीन सीमासम्म जाने नेपाली सवार केही गाडी चराङमा रोकिएको हामीले पायौं।
केही यात्रु र स्थानीयहरू होटलभित्र हलमा खाना खाँदै गफिँदै थिए। हामी ढिँडो, फापर खाएर बाहिर पारिलो घाम ताप्न निस्कियौं।
बाहिर केही स्थानीय युवा थिए। उनीहरूलाई देखेपछि चुनावकै जिज्ञासा राख्यौं।
अधबैंसेहरूले पनि भने, 'हामी त जेनजी हो, जेनजी।'
उनीहरूको आक्रामक जबाफ सुनेर मैले सोधेँ, 'जेनजी भनेको के हो?'
'नयाँ पार्टी के त घन्टी,' एकै स्वरमा भने।
'जेनजी भनेको नयाँ पार्टी हो र,' मैले फेरि सोधेँ।
'जलाएर नयाँ बनाउने पार्टी क्या,' एक भाइको बेपरवाह जबाफ आयो।
यहाँ त भाइरलको प्रकोप नै रहेछ।
नयाँ भनिएका पार्टीबारे कुरा गर्यो कि हामीलाई ट्याग लागिहाल्थ्यो, 'कांग्रेस हो कि एमाले?'
कांग्रेस वा एमालेका मतदाता भेट्दा उनीहरू हामीलाई उल्टै 'घन्टी?' भनेको हामी अड्कल काट्न सक्थ्यौं।
वृत्तचित्र छायांकनको काम सकेर काठमाडौं फर्किँदै गर्दा हामीले समीक्षा गरी बिट मार्नै सकिरहेका थिएनौं, 'आखिर यो भाइरल संक्रमणको अन्तर्य के हो?'
कताकता लाग्यो— २०६४ सालपछि माओवादी खुला राजनीतिमा आएको झल्को अहिले गाउँ–सहरमा छ!
ट्विटरः @Dahal_Shankar
(शंकर दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)