रोल्पामा २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा ३२ वर्षीय समीर कामीले आफ्नो ज्यान जोगाएका छन्।
रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ का समिर जीपको छतमा बसेर यात्रा गरिरहेका थिए। छतमा उनीसँगै अर्का एक जना पनि थिए। पहाडको भित्री र कच्ची बाटोबाट जीप ढलपल गर्दै गुडिरहेको थियो। त्यहीबीच एकाएक उनीहरू जीपबाट झरे।
तर, भाग्य-समिर उछिट्टिएर केही पर पुगे। त्यहीबीच उनले एउटा रूखको जरा समात्न भ्याए।
समिरसंगै छतबाट खसेका अर्का व्यक्ति गाडीसँगै झर्यो। समिरले रूखको जरा छोडेनन्। सोही कारण उनले दुर्घटनामा ज्यान जोगिए।
‘म पनि जाने थिए। यस्तो भिरालो जमिन थियो,’ उनले भने, ‘ठ्याक्क मैले रूखको जरा देखेँ र त्यही पकडेर म अडिए।’
उनी रूकुम पूर्व जिल्ला अस्पतालबाट बिहीबार राति ११ बजेपछि डिस्चार्ज भइ घर फर्किएका छन्। उनको बाँया खुट्टा, निधार र बाँया आँखामा चोट लागेको थियो।
घाइते अवस्थाका उनलाई प्रहरीले उद्धार गरी सुरूमा आधारभुत जलजला अस्पताल थवाङ रोल्पा पुर्याएको थियो। त्यहाँबाट उनलाई राति रूकुम पूर्व अस्पताल लगिएको थियो। समिर राति डिस्चार्ज भए।
समिरका अनुसार उनकी आमा र भिनाजु लगायत अन्य सबै सोही दुर्घटनामा परी ज्यान गुमाएका छन्।
उनीहरू सवार लु १ ज ४१६७ नम्बरको जीप दिउँसो करिब पौने ३ बजेतिर रोल्पाको थवाङ गाउँपालिका-१ सल्यापबाट झन्डै ८०० सय मिटर तल खसेको थियो। जीप सिस्ने गाउँपालिका-५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए। जीपमा सवार २० जनाको मृत्यु भएको छ।
समिर लगायत उनीहरू सबै पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए।
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको क्षण भएको हुँदा उद्धारमा ढिलाई भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रविर विश्वकर्माले बताएका थिए।
समिरले प्रहरी समक्ष उकालोमा गाडी ब्याक भएर खसेको बताएका छन्।
रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा परी ४ बालबालिका, ४ पुरूष र १२ महिलाको मृत्यु भएको छ।