रोल्पाको थवाङमा बिहीबार २० जनाको मृत्यु हुने गरी जिप दुर्घटना भएपछि ट्राफिक चेकजाँच कडा बनाइएको छ।
क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति रोक्नका लागि चेकजाँचमा कडाइ गरिएको हो।
चालकसहित २१ जना सवार लु १ ज ४१६७ उक्त गाडी सडकबाट झन्डै ८०० मिटर तल खस्दा एक जना मात्रै बाँचेका थिए।
दुई परिवारकै १५ जनाको मृत्यु भएको उक्त दुर्घटनाको छानबिनका लागि समिति गठन भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसपी यादव ढकालको नेतृत्वमा रोल्पा प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्मा र सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्रकुमार पाण्डे सदस्य रहेको समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।
छानबिन समितिले घटनास्थल पुगेर विवरण संकलन गरिरहेको छ। प्रारम्भिक रूपमा हेर्दा १२ जनाको क्षमता भएको जिपमा २१ जना राख्नु ओभरलोड भएको स्पष्ट देखिएको छ।
पहाडको साँघुरो, भिरालो र कच्ची बाटोमा ओभरलोड गरेर सवारी चलाउनु ठूलो जोखिम भएको प्रहरीको निष्कर्ष छ। दुर्घटनामा मानवीय त्रुटि, बाटोको अवस्था र यान्त्रिक समस्या जस्ता कारणहरू पनि हुन सक्ने जनाइएको छ।
थवाङ दुर्घटनापछि रुकुम सिस्ने हिमाल यातायात प्रालिले बैशाख १९ गतेदेखि आफ्नो मातहतमा सञ्चालन हुने सबै जिपका हुट हटाउन निर्देशन दिएको छ। साथै, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने निर्णय पनि गरिएको छ।
प्रहरी निरीक्षक न्यौपानेका अनुसार एकै दिन १२ वटा जिपका हुट हटाइएको छ। तीमध्ये ६ वटा बाटोमै फेला पारेर हटाइएको थियो भने थप ६ वटा कार्यालयमा ल्याएर कारबाहीस्वरूप हटाइएको थियो।
पहाडी क्षेत्रमा जिप यातायातको प्रमुख साधन भए पनि ओभरलोड र जोखिमपूर्ण यात्रा गर्दा यस्ता दुर्घटनाहरू दोहोरिने गरेका छन्। सोही कारण ब्लुबुकभन्दा बढी राखिएका सिट हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
तर, केही समय कडाइ गरेर पछि बेवास्ता गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको प्रहरीकै निष्कर्ष छ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी विश्वकर्माले दुर्घटनाअघि नै यस्तो अभियान सञ्चालन भइरहेको बताए।
‘यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी साधनका छत हटाउने अभियानलाई तीव्रता दिइएको छ,’ उनले भने।
जिल्लामा एक दर्जनभन्दा बढी जिपको छत हटाइसकिएको र नियमविपरीत सवारी चलाउने दुई दर्जनभन्दा बढी सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक न्यौंपानेले भने, ‘छतमा यात्रु बोक्ने प्रवृत्ति बढेकाले दुर्घटनाको जोखिम उच्च भएको देखिएपछि अभियान चलाइएको हो।’
दाङ (तुलसीपुर) का ट्राफिक प्रमुख तिर्थ भुसालका अनुसार राप्ती राजमार्ग हुँदै सल्यान, रोल्पा र रुकुमतर्फ जाने सवारी साधनमा चेकजाँच कडा पारिएको छ।
उनका अनुसार पछिल्ला तीन सातामा ओभरलोड, हुट वा गल्लीमा यात्रु राख्ने, जोखिमपूर्ण रूपमा सामान बोक्ने, अनावश्यक लाइट र हर्न जडान गर्ने सवारीमाथि कारबाही गरिएको छ।
तीन साताको अवधिमा करिब ७० भन्दा बढी चारपाङ्ग्रे सवारी कारबाहीमा परेका छन् भने ४० भन्दा बढी मोटरसाइकलका मोडिफाइड साइलेन्सर झिकिएको छ।
पहाडी क्षेत्रमा सवारी साधनको विकल्प कम हुनु, यात्रुले खाद्यान्न तथा सामग्री पनि सँगै बोक्नु, ओभरलोड र बाटोको कमजोर अवस्थाले दुर्घटनाको जोखिम बढाएको प्रहरीको भनाइ छ।
-1777790377.jpg)
-1777790377.jpg)
-1777790376.jpg)
-1777790376.jpg)