तुलसीपुरमा एक महिला घर नजिकै बारीमा मृत फेला परेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीकी अन्दाजी ५९ वर्षीया जगनी चौधरी सोमबार बेलुकी मृत फेला परेकी हुन्।
उनको शव घरदेखि करिब एक सय मिटर टाढाको बारीमा मृत फेला परेको थियो।
बेलुकी पौने ७ बजेतिर चौधरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली ८ बजेपछि घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएको भन्दै प्रहरीले रातभर बारीमै चौधरीको शवको सुरक्षा गरी बसेको थियो।
बाँकेबाट तालिम प्राप्त कुकुर सहितको विज्ञ टोली आइपुगेपछि मंगलबार बिहान दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली, प्रहरी निरीक्षक बिनोदराज खत्री सहितको प्रहरी टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले शव बिहान १० बजेपछि उठाएर पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो।
प्रारम्भिक अनुसन्धानबाट मृतक चौधरी सोमबार बिहान ११ बजेतिर छिमेकीको घरमा आफूले तयार पारेको सिङ्का छोड्न गएकी थिइन्। त्यसपछि उनी घर फर्किनन्।
इप्रका प्रमुख पराजुलीका अनुसार मृतकको शरीरमा घाउखत केही पनि देखिएको छैन। कानमा लगाएका सुनका गरगहना सकुशल छन्।
पोष्टमर्टम रिपोर्टपछि चौधरीको मृत्युको कारण भन्न सजिलो हुने इप्रका तुलसीपुरका प्रमुख डिएसपी पराजुलीले बताए।