यस वर्षको मनसुनी वायु दक्षिणी बंगालको खाडीमा विकास हुँदैछ। विस्तारित पनि हुँदैछ।
पछिल्लो समय मनसुनी वायुको गति केही सुस्त भएकाले नेपाल आइपुग्ने समय निर्धारण गर्न गाह्रो भइरहेको छ। साधारणतया मनसुनी वायु जुन १३ अर्थात जेठ मसान्तसम्म नेपाल आइपुग्ने अनुमान गरिन्छ।
तर प्रि–मनसुन याममा बर्खा बिर्साउने गरी घनघोर पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार नवलपुरको देउरालीमा एक घन्टामा ९३.८० मिलिमिटर पानी परेको छ। पछिल्लो तीन घन्टामा त्यहाँ ११७ मिलिमिटर पानी रेकर्ड भएको छ। यो भनेको धेरै भारी वर्षा हो।
पछिल्लो २४ घण्टामा कञ्चनपुरको ज्यामिरखलीमा १४४ मिलिमिटर वर्षा भएको छ। विभागको अनुसार यो पनि धेरै भारी वर्षा हो।
बिहीबार काठमाडौंमा पनि मध्यमदेखि भारी वर्षा भएको थियो। बिहीबार डेढ घन्टाको अवधिमा ललितपुरको खुमलटार केन्द्रमा ५७ मिलिमिटर वर्षा भएको थियो। काठमाडौंका त १० मिनेटको अवधिमा २२ मिलिमिटरसम्म पानी परेको थियो।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार फागुन १७ देखि जेठ १७ गतेसम्मको ९३ दिनको अवधिमा सरदर २२३ मिलिमिटर वर्षा हुने गर्छ।
तर अहिलेको प्रि–मनसुन याममा २८६.६० मिलिमिटर वर्षा भइसकेको छ। यो भनेको सरदरको १२५.२ प्रतिशत हो।