उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित सडकमा शनिबार बिहान दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ८ः५० बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख ६४३८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनामा परेको हो।
स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो।
उपचारका क्रममा बर्दिबास नगरपालिका निवासी करिब ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ।
अन्य २८ जना घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल छन्।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।