भक्तपुर र काभ्रेपलाञ्चोकको सीमाना क्षेत्र साँगा भन्ज्याङ्ग्मा निर्माणाधीन दुई लेनको अन्डरपासको काम अन्तिम चरणमा पुगेको छ।
अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त अन्डरपासको हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
कुल १ हजार ११० मिटर लम्बाइको अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर तथा चौडाइ १०.५ मिटर रहेको छ।
आयोजना अन्तर्गत अन्डरपासको मुख्य संरचना तथा पहुँचमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ। हाल साइड रिटेनिङ वाल निर्माण र सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको छ।
निर्माण सम्पन्न भएपछि काठमाडौँ तथा भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अन्डरपासमार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट काठमाडौँ आउने सवारीसाधनले माथिल्लो सडक प्रयोग गर्ने व्यवस्था गरिनेछ।
यसले साँगाको उकालो क्षेत्रमा देखिने सवारी चाप र ट्राफिक जामलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ। साथै यात्रु र सवारीसाधनको आवागमन थप सुरक्षित, सहज र छिटो हुने विश्वास गरिएको छ।
१५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनालाई सूर्यविनायक–साँगा (७.५ किमी) र साँगा–धुलिखेल (८.३ किमी) गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ। आयोजनाको निर्माण अवधि थप गरी २०८३ फागुन मसान्तसम्म पुर्याइएको छ।
सडक विस्तारसँगै निर्माण भइरहेको साँगा अन्डरपासलाई काठमाडौँ उपत्यका र पूर्वी नेपाल जोड्ने प्रमुख राजमार्गमा यातायात व्यवस्थापन सुधार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
-1782095120.jpg)
-1782095120.jpg)
-1782095120.jpg)
-1782095120.jpg)
-1782095120.jpg)
-1782095119.jpg)
-1782095119.jpg)
-1782095119.jpg)