दाङमा पाँच हजार बढीमा नमुना परीक्षण गर्दा ६ सय ५० जना जतिमा सिकलसेल एनेमियाका शंकाष्पद बिरामी फेला परेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन शाखाका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरुमा पाँच हजार ७० जनाको नमुना शंकलन गर्दा ६५० जनामा सिकलसेल एनेमियाको लक्षण फेला परेको थियो ।
प्रतिष्ठानकी प्याथोलोजिष्ट डा.जेनिस छत्कुलीले सिकलसेल एनेमिया स्क्रिनिङ कार्यक्रममा परीक्षण गरिएकाहरुमा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी दिइन्।
नमुना परीक्षणबाट सिकलसेल र थालसेमियाको जोखिम देखिएको उनले बताइन्।
तीन हजार १६१ जना महिला र एक हजार ९०९ जना पुरुष गरी पाँच हजार ७० जनामा परीक्षण गर्दा चार हजार ४२० जनामा हेमोग्लोबिन सामान्य देखिएको र ६५० जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको उनले बताइन्।
परीक्षण गरिएका ३३ जनामा सिकलसेल डिजिट, तीन सय ४७ जनामा सिकलसेल ट्रेट, तीन जनामा बिटा थालसेमिया मेजर, एक सय ५७ जनामा बिटा थालसेमिया ट्रेट, ५९ जनामा सिकलसेल बिटा थालासेमिया ट्रेट र ५१ जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरियन्ट फेला परेको उनले बताइन्।
प्रतिष्ठानबाट ३०३ जना, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरबाट एक हजार पाँच सय २७ जना, माध्यमिक विद्यालय सौँडियारबाट ७५१ जना, कोठरी स्वास्थ्यचौकीबाट ४९८ जना, राप्ती आधारभूत अस्पताल सिसहनियामा ५६३ जना, दंगीशरण गाउँपालिकाको स्वास्थ्य चौकीमा ४३२ जना, स्वास्थ्यचौकी झिङ्नी र माध्यमिक विद्यालय झिङ्नीबाट २७७ जना र मानपुरमा रहेको दीपेन्द्र माध्यमिक विद्यालयबाट ३१९ जनाको नमुना शंकलन गरी परीक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीले सिकलसेल र थालासेमिया वंशाणुगत रगत सम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन ।
विवाह पूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिन्छ।
प्रतिष्ठानले बढी जोखिम रहेका समुदाय तथा क्षेत्रमा परीक्षण र सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।