नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नागरिकलाई सडकमा सूचना बोर्ड, सडक फर्निचर लगायतका संरचना राख्ने काम पनि ट्राफिक प्रहरीकै हुने बुझाइ रहेको बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफ.एम. को १४ औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीसँग सिठ्ठी र सिंगो शरीर बाहेक केही नहुने प्रस्ट्याएका हुन्।
‘धेरै नागरिकलाई सडक दायाँबायाँ रोड फर्निचर राख्ने, सूचना बोर्ड राख्ने काम, जेब्रा क्रसिङ बनाउने काम, ट्राफिक प्रहरीको होला। सडकमा ट्राफिक प्रहरी नै देखिन्छ त्यसकारण ट्राफिक प्रहरीकै होला भन्ने आम बुझाइ भएको पाउँछु,' उनले भने, ‘सडकमा खटिने प्रहरीले संरचना राख्ने अधिकार हुन्न/छैन। ट्राफिकसँग सिठ्ठी र सिंगो ज्यान मात्रै छ। सिठ्ठी फुकेर सडकको व्यवस्थापन गर्न खटिएको प्राणी हो।’
उनले ट्राफिक सचेतनाबारे स्थानीय तहले पाठ्यक्रममै उल्लेख गर्नुपर्ने पनि बताएका थिए। यसरी सानै उमेर देखिको सिकाइले गर्दा ट्राफिक नियमबारे थाहा पाइने उनले बताए।