शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढी पुगेका छन्।
शुक्रबार साँझ केसीसँग टेलिफोन संवाद गरेका मन्त्री पोखरेलले आज मन्त्रालयका सचिव चुडामणि पौडेललाई संवादको लागि धनगढी पठाएका हुन्।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम छ।
सरकारले वार्तामार्फत् डा. केसीको अनसनको निकास खोज्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीको सेती प्रादेशिक अस्पताल उपचार जारी छ।
उनको आइसियुमा राखेर उपचार भइरहेको छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) मा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डा. केसी धनगढीमा अनसन बसेका छन्।
डाक्टर गोविन्द केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षामन्त्री सस्मित पोखरेलबीच शुक्रबार साँझ कुराकानी भएको थियो।
डा. अमृतका अनुसार शिक्षामन्त्री सस्मितले फोन गरेर डा. केसीका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएको बताएका थिए।