चिकित्सकमाथि कुटपिट भएको घटनापछि आज देशभरिका सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवाहरू बन्द छन्।
नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरी मंगलबार देशभरि नै आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गर्यो।
स्वास्थ्य सेवा बन्द गर्ने घोषणा पछि अस्पतालमा पुगेका बिरामीहरू भने फर्किन थालेका छन्।
उपचारका लागि दैलेखका रामप्रसाद दाहाल बिहानै वीर अस्पताल पुगेका थिए। उनको अपरेसनको लागि समय दिइएको थियो। तर ओपिडी सेवा बन्द भएपछि उपचार कहिले हुने भन्ने अनिश्चित भएको बताए।
‘साउन ६ गते आउँदा आजको मिति दिनुभएको थियो। तर आज बन्द रहेछ। अब कहिलेको मिति हुन्छ थाहा छैन। एक हप्ता कुर्न पर्ने पो हुने हो कि!,’ उनले भने, ‘दैलेखबाट उपचारका लागि भनेर बिदा लिएर आएको थिएँ। तर बिदा पनि सकिन लाग्यो। बन्दको सट्टामा अन्य नै मार्गबाट विरोध जनाएको भए सेवाग्राही मर्कामा पर्ने थिएनन्।’
सफ्रोन खातुन रक्सौलदेखि काठमाडौंमा उपचारका लागि आइपुगेका थिए। ओपिडीमा जाँच गराएर एमआरआईको रिपोर्ट देखाउनका लागि आजको समय दिइएको थियो।
आजै बेलुकी फर्किने गाडीको टिकट समेत लिइएको थियो। तर हड्ताल भएको थाहा पाएपछि आफू अन्यौलमा रहेको उनले बताए।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड भएको थियो।
आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरू समेत घाइते भएका थिए। यसमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्न संघले माग गरेको छ।
तर उक्त माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ। संघले यस घटनाको भत्सर्ना गरेको छ।
यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ।
संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने घोषणा समेत गरेको छ।
मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य सेवा बन्द नगर्न अपील जारी गरेका हुन्।
‘स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ,’ अधिकारीले भनेका छन्।
मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
यसमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूले आवश्यक कार्य गरिरहेको बताएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो।
तस्बिरहरू:
-1785220801.jpg)
-1785220800.jpg)
-1785220800.jpg)
-1785220800.jpg)
-1785220800.jpg)
-1785220799.jpg)
-1785220799.jpg)
-1785220799.jpg)
-1785220799.jpg)
-1785220798.jpg)
-1785220798.jpg)
-1785220798.jpg)
-1785220798.jpg)
-1785220798.jpg)
-1785220798.jpg)
-1785220797.jpg)
-1785220797.jpg)
-1785220797.jpg)
-1785220797.jpg)