वीरगञ्जको नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन्।
गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सामुहिक राजीनामा बुझाएका हुन्।
अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साह अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समिति तर्फका गरी ९० जना चिकित्सक मध्ये ६८ जना चिकित्सकले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका छन्।
थप चिकित्सकले पनि राजीनामा पत्रमा हस्ताक्षर गर्ने अवस्था सृजना भएको उनले बताए।
‘वार्ता र संवाद मार्फत समस्याको निकास खोजौं, इर्मजेन्सी खुलाएर सेवा प्रदान गरौं भनेर आग्रह गरेको थिएँ,’ निमित्त मेसु चितरञ्जनले भने, ‘हैन हामी सामुहिक राजीनामा दिन्छौं भनेर पत्र ल्याउनुभयो।’
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पताल सहित देशभरको अस्पतालको ओपिडी सेवा ठप्प छ। नारायणी अस्पतालमा नयाँ विरामी भर्ना गरिएको छैन। अस्पतालमा भर्ना भएका बिरामीलाई पनि धमाधम डिस्चार्ज गरिरहेको चिकित्सकहरूले बताएका छन्।
नेपाल चिकित्सक संघ नारायणीका प्रवक्ता डा. अजय यादवका अनुसार चिकित्सकले राजीनामा दिइसकेको अवस्थामा भर्ना भएका बिरामीलाई समेत सेवा दिन नसक्ने स्थिति भएकोले डिस्चार्ज गर्न थालिएको छ।
‘राजीनामा दिइसकेपछि काम गर्ने कुरा आउँदैन, उपचार नहुने भएपछि बिरामी राखेर पनि भएन,’ उनले भने, ‘त्यसैले भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्दैछौं।’
नारायणी अस्पतालमा दैनिक वीरगञ्ज र आसपासका क्षेत्रबाट आउने ८ सय देखि १ हजार जना सेवाग्राहीले ओपिडी सेवा लिने गरेका छन्।
सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा भएको वार्तामा चिकित्सकलाई दुर्व्यवहार गरेपछि स्थिति झन् बिग्रिएको छ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक स्वयंले आन्दोलनरत चिकित्सकलाई धक्कामुक्का गर्दै गरेको भिडिओ सार्वजनिक भएको छ। प्रशासनमा भएको घटना पछि चिकित्सक राजीनामा गर्ने मनस्थितिमा पुगेका हुन्। सुरक्षा दिने निकायबाटै असुरक्षित भएको गुनासो चिकित्सकहरूको छ।
प्रतिनिधि सभा सदस्य सुशिल साह कानु समेतको उपस्थितमा सोमबार जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको वार्तामा नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डा. अमित झाले आक्रोशित हुँदै चर्को स्वरमा ‘तपाईले समस्या समाधान गर्न सक्नु भएन भने तपाईको पनि राजीनामा मागिनेछ’ भनी भनेर प्रमुख जिल्ला अधिकारीलाई भनेका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल आवेसमा आएर राजीनामा माग्ने को हो? थुन् यिनीहरूलाई भन्दै तथानाम गाली गरेको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंह बताउँछन्।
‘पञ्चायत कालमा कस्तो थियो मलाई थाहा भएन, तर लोकतन्त्रमा प्रशासनबाट त्यस्तो व्यवहार भएको यसअघि देखेको थिएन। प्रहरी प्रशासनले अपशब्द प्रयोग गरेर गाली दिनुभयो,’ उनले भने, ‘उत्तेजित नहुनुस् भनेर प्रमुख जिल्ला अधिकारीलाई हात पनि जोडेँ तर सुनुवाई भएन, माहोल बिग्रियो, थुन्ने भनेपछि के कुरा गर्ने भनेर डाक्टरहरू निस्किएर हिँडे।’
त्यसपछि प्रहरी उपरीक्षक सुदिपराज पाठकले निस्केर गएका चिकित्सकहरूलाई रोक्न आदेश दिएका थिए। बरण्डा र भर्याङमा पुगेका चिकित्सकलाई बल प्रयोग गरेर प्रहरीले प्रजिअको कार्यकक्षमा फिर्ता लग्नुको साथै केहि चिकित्सकको मोबाइल खोसेर राखेको चिकित्सकहरू बताउँछन्। त्यसक्रममा चिकित्सक र प्रहरीबीच धकेलाधकेल भएको थियो। बाहिर रहेका चिकित्सकहरूले घटनाबारे थाहा पाइ प्रशासनमा पुगी हो–हल्ला गरेपछि प्रहरी प्रशासनले घेरेर राखेका चिकित्सकलाई छोडिएको थियो।
‘प्रधानमन्त्री, गृहमन्त्रीको राजीनामा माग्छन्, सिडिओको राजीनामा माग्दा चिकित्सकलाई अपराधी सरह दुर्व्यवहार गरियो,’ डा. उदयले भने, ‘वार्ता गर्न बोलाएको मान्छेलाई नै प्रहरी लगाएर थुन्ने, गाली गर्ने गर्ने भएपछि माहोल बिग्रियो।’
चिकित्सकहरूले सिडियो र एसपीलाई अबिलम्ब कारबाही हुनुपर्ने, चिकित्सक डा प्रमोद रामलाई कुटपिट गर्ने व्यक्तिहरू पहिचान गरी कानुनी दायरामा ल्याएर कारबाही गर्ने, शनिबारको घटनामा लापरबाही भए नभएको बारे छानबिन गरी दोषी देखिएकालाई कारबाही हुनुपर्ने माग राखेका छन्।
गत शनिबार हर्टअट्याक भएपछि वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेललाई नारायणी अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भयो। मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै अस्पतालमा तोडफोड गर्नुको साथै आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए।
‘राजकुमारलाई अस्पताल ल्याउँदा ब्लड प्रेसर ८०/६०, अक्सिजन ८० मा थियो। कार्डिजेनिक सकमा भएको बिरामीलाई भए भरको सबै उपचार गरियो, तर बचाउन सकिएन,’ डा. उदय भन्छन्, ‘त्यो घटनालाई लिएर अस्पतालमा तोडफोड गरियो, प्रशासनले वार्ता गर्न भनेर बोलाएर डा. प्रमोद रामलाई बाटोमा मरणासन्न हुनेगरि कुटियो। लापरबाही जस्तो लाग्छ भने छानविन गर्नुपर्छ, चिकित्सक दोषी छन् भने कारबाही हुन्छ। ज्यान मार्ने प्रयास भएको घटनामा वार्ता गर्ने भन्ने कुरा नै आउँदैन।’
डा. प्रमोदको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ। घटनामा संलग्नमा रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।