सिरहाको गोलबजार र लहानमा पनि तनाव उत्पन्न भएको छ।
बिहीबार युवाहरू भेलाजम्मा भई झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यू आदेश जारी गरेको छ।
गोलबजार नगरपालिका र लहान नगरपालिकामा तनाव उत्पन्न भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार ती क्षेत्रमा अश्रुग्यास प्रहार गरिएका छन्। हवाइ फयार समेत गरिएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पौडेलले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन्।
उक्त आदेश पूर्वपश्चिम राजमार्गको पूर्व तर्फ गोलबजार नगरपालिका-३ कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तर तर्फ सैनिक चोक, दक्षिणतर्फ रा.प्र. बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा तोकिएको छ।
कर्फ्यूको बर्खिलाप हुने कुनै गतिविधि भए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
आइतबार साँझ सुनसरीको देवानगंजस्थित कप्तानगन्जमा दुई पक्षबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो। उपचारको क्रममा बिहीबार थप एक जनाको मृत्यु भएको छ।
मृत्यु भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले गठन गरेको टोली सुनसरी पुगिसकेको छ। तर सुनसरीमा भएको घटनाले अन्यत्र जिल्लामा समेत तनाव उत्पन्न भएको छ।