काठमाडौंको गोठाटारमा आगलागी भएको छ।
शनिबार राति सवा ९ बजे गोकर्णेश्वर नगरपालिका-५ गोठाटारस्थित पहेँलो पुल नजिक रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट सुरू भएको आगलागीबाट १४ वटा पसल जलेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विद्युत सर्ट भई सुरू भएको आगलागी झन्डै २ घन्टापछि नियन्त्रणमा आएको थियो।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन एन्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, मिठाइ पसल, हार्डवेयर पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे एन्ड किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेको छ।
आगो निभाउन जिल्ला प्रहरी परिसर काठमाण्डौ,भद्रकाली बाट एसपी दान बहादुर थापाको कमान्डमा १०० जना प्रहरी टोली, विपद व्यवस्थापन सामाखुसी बाट प्रहरी निरीक्षक हिरा थापा मगरको कमाण्डमा २५ जनाको प्रहरी टोली, सिनामंगल बाट नेपाल शसस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षकहेराम कुँवरको कमाण्डमा ५० जनाको प्रहरी टोली गरी जम्मा १७५ जनाको प्रहरी टोली परिचालन भएका थिए।
सँगै ९ वटा दमकल,३ वटा पानी ट्यांकर परिचालन गरिएको थियो।
स्थानीय बासिन्दाहरुको पनि सहयोगमा आगलागी राति ११ बजे नियन्त्रणमा लिइएको परिसरले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन्।
उनलाई उपचारका लागि नगर अस्पताल मुलपानी लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।