सिभिल इन्जिनियरिङ ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (सिलान) को अध्यक्षमा रामशरण देउजा पुनः निर्वाचित भएका छन्। पहिलो राष्ट्रिय भेला तथा वार्षिक साधारण सभाले तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
उपाध्यक्षमा विज्ञानेश्वर मकाजु, महासचिवमा अभिमन्यु हुमागाईं, सचिवमा गुरू अधिकारी र कोषाध्यक्षमा राजन महर्जन चयन भएका छन्। सदस्यमा नितिशकुमार साह, शिवहरि सिलवाल, टंक खड्का, सञ्जीव यादव, प्रदीप श्रेष्ठ, ध्रूव सिंह, संगीता गुप्ता, भुवनेश्वर साह र सोनार चयन भएका छन्। बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने निर्णय भएको छ।
अधिवेशनले संस्थाको भावी कार्यदिशा, संगठन विस्तार र गुणस्तर सुनिश्चिततासम्बन्धी नीतिगत विषयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। सरकारसँग समन्वय गरेर आवश्यक नीति तर्जुमा गर्ने र यस क्षेत्रमा ठोस नीतिगत पहल अघि बढाउने निर्णय भएको महासचिव अभिमन्यु हुमागाईंले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष देउजाले सिभिल इन्जिनियरिङ प्रयोगशालाको दर्ता, सञ्चालन, नियमन र अनुगमनका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए। पूर्वाधार निर्माण आयोजनामा गुणस्तर कायम गर्न संस्थाले सुरूदेखि नै नीतिगत पहल गर्दै आएको उनको भनाइ छ।
उनले यस क्षेत्रका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए। सिलानले तयार गरेको अवधारणापत्र नेपाल सरकार र गुणस्तरसम्बन्धी निकायलाई बुझाइसकेको पनि उनले जानकारी दिए।
देउजाका अनुसार हालै राष्ट्रिय सतर्कता केन्द्र र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले पहिलो पटक सिभिल इन्जिनियरिङ प्रयोगशालाको स्थलगत अनुगमन सुरू गरेको छ। अनुगमनबाट प्राप्त निष्कर्षका आधारमा आगामी नीति, कानुन र कार्यविधिमा सुधार हुने अपेक्षा संस्थाले गरेको छ।